दीक्षितलाई रिहा गर्न आदेश
काठमाडौँ, २० वैशाख । सर्वोच्च अदालतले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष तथा पत्रकार कनकमणि दीक्षितलाई रिहा गर्न आदेश दिएको छ ।
कामु प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले सो आदेश दिएको हो । अकुत सम्पत्ति जोडेको आरोपमा हिरासतमा लिइएका दीक्षितलाई सुनुवाइका लागि सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूल सम्पत्ति जोडेको आरोपमा छानबिन गर्न उहाँलाई हिरासतमा राखेको थियो । यही वैशाख १५ गते कानुनी प्रक्रिया नपु¥याई हिरासतमा राखेको जनाई उनकी पत्नी शान्ताले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन।
यसअघि यही वैशाख १२ गते विशेष अदालतले साझा यातायातका अध्यक्ष दीक्षितलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको थियो । अकुत सम्पत्ति जोडेको अभियोगमा आयोगले यही वैशाख १० गते दीक्षितलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति: २० बैशाख २०७३, सोमबार