उर्लाबारीमा आजदेखी ‘फ्रि वाईफाई’ सुरु, नगरका १२ ठाउँमा जडान हुँदै


 


उर्लाबारी,  असार ३

मोरङको उर्लाबारी नगरपालिकाले नगरभित्रका बिभिन्न ठाउँमा ‘फ्रि वाईफाई’ सेवा सुरू गरेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङगसँगको सहकार्यमा नगरपालिकाले आजदेखी ‘फ्रि वाईफाई’ सेवा सुरु गरेको हो ।

आज बेलुका इलाका प्रहरी कार्यालय उर्लाबारीको नागरिक सहायता कक्षबाट ‘फ्रि वाईफाई’ सेवाको मेयर खड्ग फागोले सुरवात गर्नुभएको हो । इप्रकाको नागरिक सहायता कक्षबाट सुरु भएको ‘फ्रि वाईफाई’ जडान एकहप्ताभित्र नगरका १२ ठाउँमा जडान गरिसक्ने वल्र्ड लिङ्कका दमक शाखा प्रमुख राजन तिम्सिनाले जानकारी दिनुभयो ।

इप्रकाको नागरिक सहायता कक्षमा ‘फ्रि वाईफाई’ जडान भएपछि सेवा लिन आउने सर्वसाधरण जनताहरु लाभान्वित हुने प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताउनुभयो । उर्लाबारीको मुख्य चौक, बरगाछी, दुर्गापुरी बजार, हाटखोला, स्कुलडाँडा, आईतबारे, किसान चोक, मंगलबारे हस्पिटल छेउ, थापा चौक, उर्लाबारी नगरपालिका आसपास लगायत १२ ठाउँमा ‘फ्रि वाईफाई’ जडान गरिने मेयर फागोले बताउनुभयो । मेयर फागोले उर्लाबारीलाई सूचनामैत्री नगर बनाउनका लागि ‘फ्रि वाईफाई’ जडान सुरु गरिएको बताउनुभयो ।

नगरपालिकाले सुरू गरेको ‘फ्रि वाईफाई’ सेवाले यहाँका विद्यार्थी, युवा, शिक्षक लगायत सर्वसाधरण सबै लाभान्वित हुनेछन् । ‘अहिले इन्टरनेटमै पढाइका सन्दर्भ सामग्री खोजेर पाइन्छ’, मेयर फागोले भन्नुभयो, ‘इन्टरनेटको सहज सुविधा भयो भने विद्यार्थीहरुले यसको अधिकतम उपयोग गर्न सक्छन् ।’ मेयर फागोले भन्नुभयो – ‘हामी उर्लाबारीलाई कृषि, भौतिक पूर्वाधार र शिक्षाको हबका रुपमा विकास गरिरहेका छौँ’, ‘यी सबै चीजको विकासका लागि इन्टरनेट पनि एउटा महत्वपूर्ण पाटो हो ।’

कृषि, पर्यटन र शिक्षाका लागि इन्टरनेटको समुचित प्रयोग गर्ने पक्षमा नगरपालिका रहेको मेयर फागोको भनाई छ । उर्लाबारीमा जडान गरिएका ‘फ्रि वाईफाई’ एउटा मोबाईलबाट दिनमा बढीमा एक घण्टासम्म मात्र चलाउन पाईनेछ ।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्