मन्थलीका मेयरको टाउको फुटाइयो


 


मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतमाथि नगर कार्यपालिका बैठकमै आक्रमण भएको छ । सोमबार नगरकार्यपालिका बैठक चलिरहेको बेला मेयरमाथि कार्यपालिका सदस्यहरुले आक्रमण गरेका हुन् ।

काम नै नगरेका पुराना योजनाको रकम भुक्तानी हुनुपर्ने माग उठाउँदै वडा नम्बर ५ का वडाध्यक्ष रामबहादुर कार्की, वडा नं १२ का वडाध्यक्ष कृष्णहरि अधिकारी र कार्यपालका सदस्य उद्धव रम्तेल लगायतले कुर्सी, नेमप्लेट, चियाको ग्लास, पानीका बोतल लगायतले आक्रमण गरेको बस्नेतले बताए ।

गत आर्थिक वर्षमा वडा नम्बर ५ मा विनियोजन भएको एक करोड १५ लाख रुपैयाँमध्ये काम हुन नसकेपछि ७८ लाख रुपैयाँ संचित कोषमा फिर्ता भएको थियो । फिर्ता आएको उक्त रकम वडामा जानुपर्ने र योजना कार्यान्वयन हुनुपर्ने वडा नम्बर ५ का अध्यक्ष रामबहादुर कार्कीले चालू आर्थिक वर्ष सुरु भएदेखि नै माग गर्दै आएका थिए ।

त्यही विषयलाई लिएर कार्यपालिकाको बैठकमा सधैं विवाद हुने गरेको नगर प्रमुख बस्नेतको दाबी छ । एक आर्थिक वर्षमा काम हुन नसकेर संचित कोषमा फिर्ता भएको रकम नयाँ आर्थिक वर्ष सुरु भएपछि नगरयोजना बनाएर खर्च गर्नुपर्ने भएकाले वडाले माग गरेजस्तै जस्ताको तस्तै दिन नसकिएको नगरप्रमुख बस्नेतको भनाइ छ ।

तर, उक्त विषय कार्यपालिकाको बैठकमा पटक–पटक उठेपछि कार्यपालिकाको २१ औं बैठकले पाँच सदस्यीय कार्यदल गठन गरेर वडाले गरेको कामको स्थलगत निरीक्षण गराएको थियो । कार्यदलले निरीक्षण गरेको १५ वटा योजनाहरुमध्ये सात वटा योजनामा काम भएको, सात वटामध्ये एउटा योजनामा उपलब्धीविहीन काम भएको र अन्य योजनाहरुको प्रक्रिया नमिलेको प्रतिवेदन पेश गरेको थियो ।

प्रतिवेदनको आधारमा कार्यपालिकाको २२ औं बैठकले कामको आधारमा प्रक्रिया मिलाएर भुक्तानी दिने निर्णय गरेको नगरप्रमुख बस्नेतको भनाइ छ । तर वडा अध्यक्षले तत्कालै भुक्तानी दिनुपर्ने भन्दै आक्रमण गरेको बस्नेतको दाबी छ ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले प्रक्रिया नपुगेको योजनाको भुक्तानी दिन नमिल्ने बताउँदै टेबुल ठोकेपछि बैठकमै नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई लक्षित गरी आक्रमण भएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्