वडाअध्यक्ष र सदस्यको आक्रमणमा परी मन्थली नगरपालिकाका मेयरको टाउको फुट्यो


 


रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत र प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मीमाथि कार्यपालिका बैठकमै कार्यपालिका सदस्यहरुले आक्रमण गरेका छन् । आक्रमणमा परी नगरप्रमुख बस्नेत घाइते भएका छन् । नगर प्रमुख बस्नेतले सोमबार पत्रकार सम्मेलन गरी नगरकार्यपालिका बैठक चलि रहेको बेला आफू र प्रमुख प्रशासकिय अधिकृत माथि आक्रमण भएको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा नगरप्रमुख बस्नेतले कामनै नगरेका पुराना योजनको रकम भुक्तानी हुनु पर्ने माग राख्दै वडा नं ५ का वडाअध्यक्ष रामबहादुर कार्की, वडा नं १२ का वडाअध्यक्ष कृष्णहरि अधिकारी र कार्यपालिका सदस्य उद्धव रम्तेल लगायतले कुर्सी, नेमप्लेट, चियाको ग्लास, पानीका बोतल लगायतले आक्रमण गर्दा आफ्नो टाउकोमा चोट लागि रगत बगेको जनानकारी दिए ।

पत्रकार सम्मेलनमा नगरप्रमुख बस्नेत र प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मीले हस्ताक्षर गरि वितरण गरिएको प्रेस विज्ञप्तिमा नगर कार्यपालिकाको २७ औँ बैठक सञ्चालन भइरहेको बेला आवश्यक विधि प्रक्रिाय पुरा नगरेको हुँदा वडा नं ५ को अधिल्लो आर्थिक वर्षमा सञ्चालित योजना र कार्यक्रमको भुक्तानी गर्न नसकिने देखिएकोले त्यस बारेमा छलफल हुँदा केही कार्यपालिका सदस्यले जसरी भए पनि भुक्तानी दिनु पर्ने भन्दै आक्रमण गरेको उल्लेख छ । कसैले धम्याउने, आक्रमण गर्ने वा वल देखाउने कार्यले आफू बिचलित नहुने नगरप्रमुख बस्नेतले बताए । उनले यस्ता कार्यका विरुद्ध आफू लडि रहने पत्रकार सम्मेलनमा बताए । यो समाचार तामाकोशी अनलाइनबाट साभार ।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्