सरकारी जग्गा परिवारका नाममा दर्ता गर्ने १६ जना विरूद्ध मुद्दा


 


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले जुम्ला गुठीचौरस्थित भेडा बाख्रा फारामको नाममा रहेको ५ सय ९० रोपनी जग्गा परिवारको नाममा नामसारी गर्ने तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपाने र उनका परिवारसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मालपोत कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख (नासु) गोबिन्दप्रसाद न्यौपाने, तत्कालीन खरिदार हाल मालपोत कार्यालय चावहिलका ना.सु. बिजय शर्मा न्यौपाने र तत्कालीन भेंडा तथा बाख्रा अनुसन्धान कार्यक्रम गुठीचौर जुम्लाका कार्यालय प्रमुख यमुना कुमार श्रेष्ठ विरुद्ध आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

त्यसरी नै सरकारी कर्मचारीलाई अनुचित प्रभावमा पारी गैरकानूनी तरिकाबाट उक्त जग्गा आ–आफ्नो नाममा दर्ता गर्ने कार्यमा प्रत्यक्ष संलग्न तथा आफ्नो नाममा जग्गा दर्ता गर्ने हरिहर न्यौपाने, मुनिश चन्द्र न्यौपाने, मायालाल न्यौपाने, बिष्णु न्यौपाने, बिष्णु ऋषि न्यौपाने, बिष्णुलाल न्यौपाने, पार्वती न्यौपाने, नव ऋषि न्यौपाने, धन प्रसाद न्यौपाने, देवेन्द्र प्रसाद उपाध्याय, जानकी दत्त देवकोटा, गोमा न्यौपाने, केशवराज न्यौपाने, कविदत्त न्यौपानेलाई समेत आयोगले दोषी ठहर गरी विशेष अदालतमा मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हाल सेवा निवृत्त जुम्लाको गुठीचौर गाउँपालिका–४ बाउलीगाउँका न्यौपानेले सेवामा रहँदा २०६६ सालमा गुठीचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको ३ लाख वर्गमिटर अर्थात् ५९० रोपनी जग्गा श्रीमती, छोरी लगायत परिवारका विभिन्न सदस्यको नाममा नामसारी गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ ।

साविक गुठिचौर गाविस–६ को कित्ता नम्बर ३ मा भेडाबाख्रा फार्मको नाममा ६ लाख २१ हजार ५२५ वर्ग मिटर जग्गा फिल्डबुकमा कायम थियो । त्यसैमध्येको तीन लाख वर्ग मिटर (५९० रोपनी) जग्गा न्यौपानेले निजी बनाएका हुन् ।

प्रकाशित मिति: २ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्