प्रधानमन्त्री स्व–रोजगार लागू भए सँगै संखुवासभाको चैनपुरमा रोजगारको अवसर


 


संखुवासभा सरकाको सुशासन र शान्ति श्रमृद्ध राष्ट्र निर्माणका लागि नेपाल सरकार प्रधानमन्त्री रोजगार कार्यक्रम संखुवासभाको चैनपुरमा उद्घाटन गरिएको छ ।
नेपालकै ऐतिहासिक महत्व बोकेको भ्यागुते ढुंगा स्थित चैनपुर ६ र ७ नं. वडाको सिमानामा पर्ने प्राङ्गणमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै चैनपुर नगरपालिकाका प्रमुख भरत कुमार खत्रीले “श्रमको सम्मान राष्ट्रको अभियान” भन्ने मूल नाराका साथ कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना, नगरका ११ वटै वडामा सञ्चालन गर्ने गरी रोजगारको लागि छनौट भएका कामदारहरुलाई निमार्ण सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

सरकारले वेरोजगार युवायुवतीलाई लक्षित गरी ल्याएको यस कार्यक्रमले सानो अंशमा भए पनि वेरोजगार न्युनीकरण गर्दै आर्थिक उपार्जन सँग ग्रामिण विकास निर्माणमा ध्यान केन्द्रित हुने प्रमुख खत्रीले वताउनुभयो ।

नगरका ११ वटा वडामा १ हजार ७ सय ८१ जना वेरोजगार युवायुवतीहरुले रोजगारीका लागि फर्म भरे पनि ती सबैजना छनौट गर्न नसकिएको चैनपुर नगरपालिका प्रशासकीय अधिकृत गायत्रा श्रेष्ठले वताउनुभयो । फर्म भर्ने मध्ये १ सय ८५ छनौटमा परेका थिए । चैनपुर नगरपालिकाको वडा नं. १, २, ४ र ११ मा २० जना कामदारले वर्षमा कम्तिमा २० दिन काम पाउने भएको छ । छनौट भएका प्रत्येक वडामा २ लाख ४६ हजारका दरले रकम विनियोजन गरेको छ । यसै गरी नगरको अन्य वडाहरु ३,५,६, ७, ८,९ र १० मा प्रत्येक वडामा १५ जनाको दरले श्रमिकहरुले काम गर्न पाउने भएको छ । ती प्रत्येक वडामा १ लाख ८४ हजार ५ सय स्वरोजगारको लागि बजेट विनियोजन भएको प्रधानमन्त्री स्व–रोजगार कार्यक्रम सेवा केन्द्र चैनपुरका संयोजक पुष्कर गौतमले वताउनुभयो ।

गौतमका अनुसार आषाढ १ गतेबाट २० गतेसम्म एकै समयमा एकै प्रकृतिका योजना सञ्चालनका लागि १ सय बढी वेरोजगार युवा युवतीलाई दैनिक ६ सय १५ रुपैयाँका दरले रोजगार उपलब्ध गराउने गरी नगरपालिकाले प्रत्येक वडातहमा छनौट भएका कामदारलाई झम्पल, गैती, कोदालो लगायतका सामग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता महासमिति सदस्य ज्ञान बहादुर कार्कीले यो रोजगारमूलक कार्यक्रमले नगरपालिकाको साना तथा मझौला विकासे आयोजनामा सहयोग पुग्ने बताउनुभयो । वडा नं. ७ का वडाध्यक्ष पदम बहादुर तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा चैनपुर नगरपालिका क्षेत्रका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: १ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्