झारखण्डमा माओवादी आक्रमण, ५ प्रहरीको घटनास्थलमै मृत्यु
एजेन्सी, जेठ ३२
भारतको झारखण्ड राज्यमा पर्ने सरायकेला खरसांवा जिल्लामा शुक्रबार साँझ सशस्त्र माओवादी विद्रोहीले प्रहरी सवार गाडीमा आक्रमण गरेका छन् ।
आक्रमणबाट पाँच प्रहरीको मृत्यु भएको छ । मर्नेमा दुई असई र तीन कन्स्टेबल छन् । प्रहरीका अनुसार घटना पश्चिम बंगालसँग जोडिएको तिरुलडी थाना क्षेत्रमा भएको हो । आक्रमणमा परेका प्रहरी सवार गाडी झारखण्डका कुकडूमा लाग्ने साप्ताहिक हाट बजारबाट फर्किरहेको थियो । सवारी बाटोमा पहिलेदेखि ढुकेर बसेका माओवादी छापामारको आक्रमणमा परेको थियो ।
झारखण्ड प्रहरी प्रवक्ता र एडीजीएमएल मीणाले घटनाको पुष्टि गरेका छन् । आक्रमणमा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भयो । आक्रमण पछिल्लो एक महिनामा माओवादीहरुको चौथो आक्रमण हो ।
यस अघि मे २८ मासरायकेला खरसांवा जिल्लाको कुचाईमा माओवादी विद्राहीले बारुदी धराप विस्फोट गराएका थिए । त्यस घटनामा झारखण्ड प्रहरी र सीआरपीएफका २६ जवान घाइते भएका थिए ।
प्रकाशित मिति: ३२ जेष्ठ २०७६, शनिबार