जात्रीको अवसरमा उर्लाबारीमा असार २ गते स्थानीय विदा (हेर्नुहोस् सुचनासहित)


 


उर्लाबारी, जेठ ३१

मोरङको उर्लाबारी नगरपालिकाले धिमाल जातिको पर्व जात्रीको अवसरमा यहि असार २ गते स्थानीय विदा दिएको छ । आज नगरपालिकाले सूचना प्रकाशित गरी स्थानीय सार्वजनिक विदाको घोषणा गरेको नगर प्रमुख खड्ग फागोले जानकारी दिनुभयो ।

गत वैशाख २ गते मोरङको लेटाङ नगरपालिकाबाट सुरु भएको जात्री असार २ गते उर्लाबारी–३ मा भव्य मेला लागेर समापन हुने गर्दछ । प्रदेश नंं १ मा रहेका धिमाल समुदायले यो पर्व वैशाख २ गतेदेखि असार २ गतेसम्म मनाउने गर्छन् । प्रकृतिपुजक धिमालहरु रोगब्याधी नलागोस्, वाली विरुवा लगाउने वेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामनासहित महाराजथानमा गएर सामुहिक पूजाआजा गर्ने गर्छन् ।

परापूर्वकालमा धिमालहरुले यि समस्याहरु समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पूरा भएको र यसलाई निरन्तरता दिदैं मनाउदै आएको जनविश्वास छ । सिर्जात अर्थात सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले वर्षभरी कसैलाई पनि रोगव्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको संबिधानसभा सदस्य पर्तमान धिमालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्