नेपाली रेललाई वीरगंज र विराटनगरबाट कोलकतासम्म पहुँच


 


काठमाडौं । नेपाल–भारतबीच नेपालको रेल वीरगंज र विराटनगरबाट भारतको कोलकत्तारहल्दियासम्म सञ्चालन गर्ने सैद्धान्तिक सहमति भएको छ ।

दुई मुलुकबीचको रेल सेवा सम्झौताअन्तर्गतको हालै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारतले नेपालको वीरगंज र विराटनगरसम्म रेल सञ्चालनका लागि सहमति जनाएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो सहमतिले छिट्टै लिखित रुप लिने दाबी गरेको छ । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले डेढ वर्षभित्र भारतको कोलकत्तासम्म नेपालको रेल सञ्चालन हुने गरी सो सहमतिलाई अघि बढाउने योजना सार्वजनिक गरे । बैठकमा नेपालको वीरगञ्ज सुख्खा बन्दरगाहसम्म विद्युतीय रेललाइन बिस्तार गर्न भारतले सहमति पनि जनाएको थियो ।

दुई मुलुकबीच पारवहन सन्धिअनुसार विराटनगर र भैरहवा नाकाबाट समेत रेलबाट बल्क कार्गो ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने सहमति गरिएको छ । विराटनगर–जोगबनी, सुनौली–नौतनवा र कुर्था–इनरुवा–जयनगर रुटमा रेल सेवा सञ्चालनमा आएपछि सो रुटमा कार्गो ढुवानी गर्न दुई मुलुकबीच सहमति जुटेको छ ।

सचिव अधिकारीले यो सहमतिसँगै दुई मुलुकबीचको मालसामान ढुवानीमा देखिँदै आएको समस्या समाधान भएर जाने विश्वास व्यक्त गरे । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारत सरकारको रेल मन्त्रालयका कार्यकारी निर्देशक मनोजकुमार श्रीवास्तवले नेतृत्व गरेको बैठकले नेपाली बैकिंङ च्यानलमार्फत् ढुवानी, दस्तुरलगायतका महशुल नेपाली व्यापारीहरुले गर्न पाउने सहमति भएको छ ।

नेपाली व्यापारीहरुले विगतदेखि उठाउँदै आएको सो समस्यालाई पनि भारत सरकारले समाधान गर्ने सहमति जनाएको सचिव अधिकारीले बताए । बैठकमा दुई मुलुकबीचको रेल सेवा सम्झौताको अर्को बैठक ६ महिना भित्र नेपालमा बस्ने सहमति भएको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्