पाँचथरको दुर्गम तुम्बेवामा विजुली बलेपछि स्थानीयमा छायो खुसियाली


 


फिदिम, जेठ २७

घर र पसलमा झलमल्ल विजुली बलेपछि पाँचथरको तुम्बेवा गाँउपालिका वडा नं. ३ का खेमबहादुर खत्री खुसीले गदगद् हुनुहुन्छ । तुम्बेवा–३ मौवा बजारमा पसल गर्ने खत्रीमा विजुलीको उज्यालोसँगै आफ्नो क्षेत्रका समस्या समाधान हुने विश्वास पलाउन थालेको छ । “खानेपानीका लागि यो विद्युत अनिवार्य थियो । अब पानी पनि आउने भयो” खत्रीले भन्नुभयो “बसाईँ सर्ने र विदेश जानेको क्रम पनि घट्ला ।”
पाँचथरको दुर्गम मानिएको तुम्बेवा गाँउपालिकामा शनिवारबाट विजुली बलेपछि स्थानीयमा खुसीको सीमा छैन् । तुम्बेवा–४ का रोशन लावतीले भन्नुभयो “यत्ति चाँडै विजुली आउँछ भन्ने मैले सोचेको पनि थिइँन् । साँच्चै प्रयत्न गर्दा विकासले फड्को मार्न रहेछ भन्ने मलाई अनुभूति भएको छ ।” गत वर्ष मात्रै निर्माण थालिएको विद्युतिकरणको कार्य पूरा भई तुम्बेवाको मौवा बजार र जोरसल्ले बजारमा विजुली बलेपछि स्थानीयमा खुसी छाएको हो ।

तुम्बेवा यहि ठाँउ हो, जहाँ खडेरीले गत वर्ष कुनै अन्नवाली फलेन । प्रदेश सरकारले तुम्बेवा गाँउपालिकासँग साझेदारी गरेर यहाँको वडा नं. १, २ र ३ का कृषकहरुलाई प्रति परिवार रु. ७ हजार ५ सय राहत उपलब्ध गरायो । यस वर्ष पनि पानी नपर्दा मकैका विरुवा सुक्न थालिसकेका छन् । यहाँ खानेपानीको हाहाकार अझै विद्यमान छ । प्रदेश सरकारकै लगानीमा खरिद गरिएको ट्याङ्करले खानेपानी वितरण गर्दै आएपनि त्यो प¥याप्त छैन् । खानेपानी अभाव, उत्पादन शून्यता र खडेरीले पीडित स्थानीय बसाँई सर्ने क्रम तीब्र छ । यहि तुम्बेवामा तमोर पम्पिङ खानेपानी आयोजना सञ्चालन गर्न तथा स्थानीयलाई अध्याँरोबाट मुक्त गर्न राष्ट्रिय प्रशारण लाइनको विद्युत जडान गरिएको हो ।
दुर्गम यस स्थानमा शनिवारबाट सञ्चालनमा आएको विद्युतको प्रदेश नं. १ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गर्नुभएको हो । शनिवार तुम्बेवा–३ स्थित इन्द्रायणी माध्यमिक विद्यालय परिसरमा आयोजित समारोहमा आङ्बोले स्वीच खोलेर बत्ती उद्घाटन गर्नुभयो । कार्यक्रमको स्टेजअघि चार वटा बल्वहरुमा बत्ती बलेपछि उपस्थित सयौँ स्थानीयवासीले तालीद्वारा स्वागत गर्दै खुसीयाली मनाए ।

यसरी खुसी मनाउने मध्येका एक तुम्बेवा–१ का राजकुमार भण्डारीले बत्ती बाल्ने लामो समयसम्मको धोको पूरा भएको वताउनुभयो । बिजुलीको उद्घाटन गर्दै मन्त्री आङ्बोले तीनै तहका सरकारको पहलमा आगामी एक वर्ष आठ महिनाभित्र तुम्बेवा गाँउपालिकाका सबै वडामा विद्युत विस्तार सम्पन्न गरिने जानकारी दिनुभयो । “तुम्बेवाका पाँच वटै वडामा विद्युत विस्तारका लागि ठेक्का प्रकृया अघि बढिसकेको छ” मन्त्री आङ्बोले भन्नुभयो “सबै पक्षको निरन्तर खवरदारीबाट निर्धारित समयमै यो गाँउपालिकालाई अध्याँरोबाट मुक्त गर्नुपर्छ ।”

यहाँका सबै वडामा विद्युत विस्तारका लागि नेपाल विद्युत प्राधिकरण इलाम तथा जोरसल्ले ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडले छुट्टा–छुट्टै बोलपत्र आव्हान गरी कार्य अघि बढाइसकेका छन् । वडा नं. १, २ र ३ मा सहकारी संस्थाको माध्यमबाट तथा वडा नं. ४ र ५ मा प्राधिकरण मार्फत विद्युत विस्तारको कार्य अघि बढेको तुम्बेवा गाँउपालिकाका अध्यक्ष होमनाथ थापाले वताउनुभयो ।
नेपाल विद्युत प्राधिकरण फिदिम वितरण केन्द्र पाँचथरका प्राविधिक प्रमुख सनोज यादवका अनुसार काबेली कोरिडोरको फिदिम–४ स्थित सबस्टेशनबाट यासोक हुँदै तुम्बेवामा ११ केभी विद्युत विस्तार गरिएको हो । तुम्बेवाको मौवा बजार र जोरसल्ले बजार सहित तुम्बेवाका वडा नं. ४ र ५ मा विद्युत विस्तारको कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । पाथीभरा कन्स्ट्रक्सन प्रा.लि.ले विद्युतिकरणको ठेक्का लिएर कार्य गरिरहेको छ । दुर्गम यस क्षेत्रमा शनिवार मात्रै ५० बढी घरमा विजुली बलेको छ । यही साता २ सय घरमा बिजुली बल्ने यादवले जानकारी दिनुभयो । रु. २ करोड ५० लाखमा टेण्डर मार्फत विद्युत विस्तारको कार्य अघि बढेको उहाँले वताउनुभयो ।

विजुली बलेपछि स्थानीयवासीमा आधारभूत सेवा प्राप्त हुने विश्वास बढेको छ । खानेपानीको चरम अभाव रहेको यस क्षेत्रमा खानेपानी पु¥याउन रु. ४५ करोडको लागतमा तमोर लिफ्टिङ खानेपानी आयोजना निर्माण भइरहेको छ । यो आयोजना सञ्चालनका लागि पनि विद्युत अनिवार्य थियो । निर्माण कार्य करीब ४० प्रतिशत पूरा भएको यो आयोजना विद्युत विस्तारसँगै द्रुत गतिमा निर्माण हुने विश्वास लिइएको तुम्बेवा गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष कमल थापाको भनाई छ । “विजुली बलेपछि अब खानेपानी आँउछ भन्ने आशा पलाएको छ । युवाहरु पनि विद्युतमा आधारित उद्योग, ब्यवसायमा जोडिने छन्” स्थानीयवासी खेमबहादुर खत्रीले भन्नुभयो “बसाईँसराईँले गाँउ नै रित्तो हुने अवस्था शायद अब नहोला ।”

तुम्बेवाका सामाजिक अगुवा देवेन्द्र खत्रीले विद्युत विकासको पूर्वाधार र स्थानीयवासीको अनिवार्य आवश्यकता विषय भएपनि सुगम ठाँउमै विद्युत विस्तार हुन नसकिरहेको अवस्थामा तुम्बेवामा विजुली बल्नु ‘ठूलो परिवर्तन’ भएको संज्ञा दिनुभयो । खत्रीले गाँउपालिकाका सबै वडामा चाँडो भन्दा चाँडो विद्युत विस्तार गर्न र खानेपानी आयोजना पूरा गर्न आफूहरु सक्रि रहेको वताउनुभयो ।

प्रकाशित मिति: २७ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्