ज्येष्ठ पत्रकार सम्मानवृत्ति कार्यक्रम सुरु


 


patrakar sammanकाठमाडौँ, वैशाख १७

नेपाल पत्रकार महासङ्घले १६ जना अग्रज पत्रकारलाई ‘ज्येष्ठ पत्रकार सम्मानवृत्ति’ प्रदान गरी ज्येष्ठ पत्रकार सम्मानवृत्ति प्रदान गर्ने कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरेको छ । सम्मानवृत्ति प्राप्त गर्ने पत्रकारहरुमा चक्रपाणि नेपाल, कृष्णबहादुर पाण्डे, कमल कोइराला, देवेन्द्र गौतम, नेपालभूषण न्यौपाने, हरि लम्साल, पद्मसिंह कार्की, पद्मभक्त खरेल, मुरारीप्रसाद गौतम, प्रवीण जोशी, बलदेव थापा, धर्मरत्न शाक्य, चेतबहादुर सिंह, गोविन्द थापा, शङ्करलयाल मल्ल र ज्ञान उदास रहेका छन् ।

शुक्रबार सूचना तथा सञ्चारमन्त्री शेरधन राईले महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा आयोजित कार्यक्रममा उनिहरूलाई प्रतिमहिना रु एक हजारका दरले एक वर्षको सम्मानवृत्तिस्वरुप रु १२ हजार र ज्येष्ठ पत्रकार परिचयपत्र प्रदान गरी सो कार्यको शुभारम्भ गरे । ६५ वर्ष उमेर र ३० वर्षभन्दा वढी पत्रकारितामा योगदान दिएका अग्रज पत्रकारहरुलाई सम्मान गर्न महासङ्घले यसै वर्षदेखि सम्मानवृत्ति कार्यक्रमको सुरुवात गरेको थियो ।

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री राईले हरेक क्षेत्रमा क्रियाशील ज्येष्ठ नागरिकलाई सम्मान गर्ने सरकारको योजना रहेको चर्चा गर्दै सञ्चार क्षेत्रको विकासमा मन्त्रालयले ध्यान दिएको बताए । महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सम्मानवृत्ति कार्यक्रम महासङ्घले आफ्नो आन्तरिक कोषबाट सुरुवात गरेको जानकारी दिँदै आगामी दिनमा कोषमा सरकारी सहयोगको अपेक्षा गरेको जनाए । उनले पत्रकार सन्तति शैक्षिकवृत्ति, विपद् व्यवस्थापन उद्धार र राहत कोष एवम् पत्रकार बिमा सुरु गरेको जानकारी दिए ।

महासङ्घका पूर्व सभापति धर्मेन्द्र झाले पत्रकारहरुले तिरेको एक प्रतिशत सामाजिक सुरक्षा कर पत्रकारको हितमा लगाउन सरकारसित आग्रह गरे । अग्रज पत्रकार एवम् महासङ्घका पूर्व उपसभापति देवेन्द्र गौतमले सम्मानवृत्ति सुरुवात गरेकामा महासङ्घलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति: १७ बैशाख २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्