हावाहुरीमा ज्यान गुमाउनेका परिवारलाई डेढ लाख दिने


 


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा हावाहुरीका कारण ज्यान गुमाउनेको परिवारलाई १ लाख ५० हजार सहयोग रकम उपलब्ध गराउने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई १ लाख ५० हजार सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो । कैलालीमा गत बिहीबार आएको भीषण हावाहुरीमा परी २ जनाको मृत्यु भएको थियो भने सय भन्दा बढी घाइते भएका थिए ।

हावाहुरीका कारण त्यहाँका घर टहराको छाना उडेको थियो भने बिजुलीको पोल ढलेर विद्युत सेवा समेत अवरुद्ध भएको थियो । त्यस्तै सुदूरपश्चिम सरकारले घाइतेहरुलाई पनि राहत उपलब्ध गराउने निर्णय गरेको छ । पूर्ण रुपमा घर क्षति भएका परिवारलाई २० हजार रुपैयाँ र आशिंक क्षति भएकालाई १० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।

उनका अनुसार पूर्ण रुपमा घर क्षति भएका परिवारलाई सुरक्षित बसोबासको व्यवस्था गर्ने निर्णय भएको छ । हावाहुरीबाट भएको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन । प्रारम्भिक विवरण अनुसार त्यहाँका एक हजार एक सय ७४ घर क्षतिग्रस्त भएको छ । क्षतिको पुरा विवरण आए लगत्तै राहत रकम उपलब्ध गराइने छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्