उर्लाबारीको सप्तकोशी बोर्डिङले दियो २६ जना विद्यार्थीलाई छात्रबृत्ति


 


उर्लाबारी । मोरङको उर्लाबारी – ४ मा अवस्थित सप्तकोशी आवासीय माध्यमिक विद्यालयले २६ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ ।  स्कुलले नर्सरीदेखि कक्षा १० सम्मका प्रत्येक कक्षाबाट २ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको हो ।

विद्यालयले आज छात्रबृत्तिको लागि परीक्षा लिएको छ । १ सय ९९ जना विद्यार्थीहरु छात्रबृत्तिका लागि सामेल भएका छन् । छात्रवृत्तिलाई निष्पक्ष र पारदर्शी बनाउन स्थानीय जनप्रतिनिधि, अभिभावक र संचारकर्मीलाई बोलाएर परीक्षा अनुगमन समेत गराईएको छ । विद्यालयको दुई वटा ब्लकमा कक्षा सञ्चालन भइरहेको छ । उर्लाबारी–५ मा नर्सरीदेखि कक्षा ३ सम्म र उर्लाबारी–४ मा ४ देखि १२ सम्म सञ्चालन भइरहेको विद्यालयका संस्थापक प्रिन्सिपल लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।

विद्यालय अवस्थित सम्बन्धित वडाबाट एक जना र अन्य वडा तथा छिमेकी गाउँपालिका वा नगरपालिकामध्येबाट एक जना गरी नर्सरीदेखि कक्षा १० सम्म २६ जना बिद्यार्थी छनौट गरी छात्रबृत्ति स्वरुप १२ महिनाकै मासिक शुल्क पूर्ण रुपमा निशुल्क हुने उहाँको भनाई छ । सामाजिक उत्तरदायित्वअन्तरगत विद्यालयले उर्लाबारीमै पहिलो पटक प्रत्येक कक्षामा छात्रबृत्तिको ब्यवस्था गरेको छ । छात्रबृत्तिबाट छनौट भएका विद्यार्थीहरुसँग एक बर्षका लागि मात्र सम्झौता हुने र पुनः अर्को बर्ष प्रतिष्पर्धा गराइने विद्यालय ब्यस्थापन समितिकी अध्यक्ष मिश्र बैजयन्तीले जानकारी दिनुभयो । विद्यालयले यसअघि देखि नै कक्षा प्रथमलाई छात्रबृत्तिको ब्यवस्था गर्दै आएको छ भने गरिब तथा विपन्न, दलित, अपाङ्गता, द्वन्द्वपीडितलगायतका विद्यार्थीहरुलाई आशिंक र पूर्ण छात्रबृत्ति प्रदान गरिरहेको छ ।

६५ जनालाई छात्रबृत्ति प्रदान गर्दै आएको उक्त विद्यालयका संस्थापक/प्रिन्सिपल भट्टराई प्याब्सनका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । कार्यक्रममा उर्लाबारी वडा नं. ४ की जनप्रनिधि अमृता दास, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत, अभिभावक ममता बुढाथोकी र उदय न्यौपानेले सप्तकोशीले सामाजिक उत्तरदायित्वअन्तरगत विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरी उत्कृष्ट पढाई भएका विपन्न समूदायलाई पनि शिक्षा प्रदान गर्ने जमर्को थालेको भन्दै प्रशंसा गर्नुभएको थियो । उर्लाबारी–४ को आइतबारेमा २ विगाहा जग्गामा फैलिएको विद्यालयमा हाल कक्षा नर्सरी देखि १२ सम्ममा ८ सय ५९ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति: २५ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्