सर्वोच्चको आदेशमा रिहा भए ज्ञानेन्द्र शाही


 


काठमाडौं, जेठ २४

सुर्खेतका पत्रकारहरुलाई अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ गरेका भ्रष्टाचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही रिहा भएका छन्। बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै शाहीलाई सर्वोच्च अदालतलेई रिहा गर्न आदेश दिएको वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले बताए।

भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेका शाहीले गालीगलोज गर्दै पत्रकारहरुलाई “दलाल र कुकुर” भनेका थिए । त्यसपछि सुर्खेतका पत्रकारहरुको उजुरीका आधारमा शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरिएको थियो। शाहीलाई पक्राउ गरेर काठमाडौं ल्याइएपछि उनको तर्फबाट अधिवक्ता महेश डंगोलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका थिए।

प्रहरीले शाहीलाई सुर्खेतबाट पक्राउ गरी बसमा राखेर यातना दिँदै ल्याएको आरोप लागेको थियो। उनको केही दिन वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। शाहीमाथि नेपाल प्रहरीले साइवर अपराधको अभियोगमा पक्राउ गरेर मुद्दा चलाएको थियो।

शाहीविरुद्ध पत्रकारहरुले आफूहरुमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।तर प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन अनुसार मुद्दा चलाएको थियो। गत बैशाख १८ गते सुर्खेतमा नेपालका लागि नेपाली राष्ट्रिय अभियानले गरेको कार्यक्रममा पत्रकार अनुपस्थित भएपछि शाही आक्रोशित भएका थिए । उनले त्यसबेला कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितका सरकारी अधिकारीहरुले गरेको भ्रष्टाचारमा पत्रका संलग्न रहेको आरोप भिडियोमार्फत् लगाएका थिए।

प्रकाशित मिति: २४ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्