भ्रष्टाचार गरेको भए गाईको मासु खाएको बराबर होस् – द्वारिकलाल चौधरी


 


इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी सर्वत्र चर्चामा छन् । चर्चामा यस कारण कि उनले आफ्नै कार्यालयका कर्मचारीलाई कार्यस्थलमै झापड लगाए । कर्मचारीलाई झापड किन हानेको ? भनेर पत्रकारले सोध्दा उल्टै पत्रकारलाई लोपारी दिए । मेयर चौधरीले स्थानीय पत्रकार विराट अनुपमलाई १ करोड खर्च गरेर नाकको हड्डी नै भाँच्ने धम्की समेत दिए । मेयर चौधरी र पत्रकार विच किन दुरी बढिरहेछ ? उनी किन जंगे शैलीमा उत्रँदैछन् ? त्यस्तो के कारण थियो मेयरले १ करोड खर्च गरेर पत्रकारको नाकको हड्डी नै भाँच्नुपर्ने भयो । नेपालगञ्जको कार्यक्रमबाट सिधै राजधानी आएका मेयर चौधरीसँग बुझ्ने चेस्टा गर्यो ।

तपाई जहिल्यै चर्चामा किन ?
यहाँ पत्रकार सबै राम्रा छैनन् । यहाँ पित पत्रकार गर्ने पनि छन्, गल्ति नभएका कुरामा पनि आरोप लगाउँछन् । विराट अनुपम भन्ने एकजना पत्रकारको समुह मलाई सिध्याउन भन्दै लागि परेका छन् । २ बर्षअघि देखिनै उनीहरु म प्रति नकारात्मक छन् । स्थानीय तहको चुनाव अघिनै मेरो चरित्र हत्या गरेर चुनाव हराउन लागि परे । तर, म स्थानीय तहमा लोकप्रिय भएकोले भारी मतले चुनाव जिते । त्यो उनीहरुलाई सह्य भएन । त्यसैले मेरो चरित्र हत्या गर्न लागेका हुन् । मैले त धम्की मात्र दिएको हो ! मारेको वा नाकको हड्डी भाँचेको त छैन नी !

पत्रकारको नाकको डाँडी भाँच्न १ करोड रुपैयाँ बजेट छुट्याउनुभएको छ । प्रत्यक्ष ज्यान मार्ने धम्की दिँदासमेत राज्यको कानुन आकर्षित हुँदैन ?
मैले जवाहरलाल नेहरुको ईतिहास पढेको छु । उहाँले आफुप्रति नकारात्मक लेख्ने पत्रकारलाई बोलाएर धन्यबाद भन्नुहुन्थ्यो । मेरो पनि त्यही चाहना थियो । आफ्नो विरुद्धमा प्रायोजित समाचार लेख्ने, मेरो बारेमा नभएका कुरा लेख्ने पत्रकारलाई एक दुई पटक त धन्यबाद नै दिए । त्यो व्यङ्ग्य स्वरुप थियो । तर, उनीहरु मेरो कमजोरी सच्याउन नभई मेरो राजनीति समाप्त पार्न लागेको थाहा पाए । भए नभएका कुराहरु लेख्ने, चरित्र हत्या गर्दै आए । अनी म जँगिएको हुँ ।

देशमा विधिको शासन छैन ? तपाईले मेयर भएर जे पनि गर्ने छुट छ ?
मैले त भाँच्छु भनेको मात्र हो । उता विराटनगरमा त एउटाको नाकको हड्डी नै भाँच्दियो कसैले । जनयुद्धमा डेकेन्द्र थापा पत्रकारलाई घाटी रेटेर हत्या गरियो । खै त्यो दोषिलाई कारवाही भयो ? मैले त धम्की मात्र दिएको हो ! मारेको वा नाकको हड्डी भाँचेको त छैन नी !

पत्रकारको नाक भाँच्छु भनेर किन धम्की दिएको ?
मैले त रिसको आबेगमा आएर भनेको हुँ । उनीहरुले मलाई २ बर्षदेखि चरित्र हत्या गर्न हुने । मैले त्यति धम्की दिन नहुने ? सहनुको पनि सीमा हुन्छ नी ? हातमा कलम छ भनेर जे लेख्दा पनि हुन्छ ? अरुको चरित्र हत्या गरेपछि त्यो पछि सुध्रिन्छ ? मैले ५० बर्षदेखि बनाएको असल छवी र चरित्र, त्यो पत्रकारले २ बर्षमा सिध्याउन मिल्छ ? मैले एकदिन उसलाई फेसबुकमा ‘चाटुकार’ भनेर लेखिदिए । उसले मलाई ‘किन त्यसो भनेको’ भन्यो अनी मैले धम्की दिएको हँु । कसैले भनेको नमानेपछि, कानुन र निती नियम नमानेपछी कहिलेकाँही तर्साउनु पनी पर्ने हुँदोरहेछ ।

तपाईले किन कर्मचारी कुट्नुभयो ? ईटहरी उपमहानगरको भ्रष्टचार काण्ड के हो ?
पहिला समाचार आयो, सिएफएल खरिदमा करोडौ रुपैयाँ घोटाला भयो । मेयर अख्तियारको फन्दामा छ भनेर अर्काे पटक समाचार आयो । त्यति मात्र होइन, मलाई पटक पटक नभएको विषयमा समाचार लेखियो । २ जना स्टोर किपरमा काम गर्ने फटाहा कर्मचारीले अनियमितता गरेका रहेछन् । तर, मलाई पत्रकारले भका–नभका आरोप लगाएपछि मलार्ई असैह्य भएको हो । केहीलाई अर्काे चुनावमा मेयर बन्न हतारो छ । यसैले केही ‘चाटुकार’ पत्रकारलाई उनीहरुले उचालेर मेरो विरुद्धमा खनिएका छन् ।

कर्मचारी भकुरेर भ्रष्टचार अन्त्य हुन्छ त ?
कहाँ कुटे मैले ? स्टोरकिपरलाई बोलाएर अनियमितता र सिएफएल बल्बको भुक्तानीको बारेमा सोेधे । उसले मलाई भन्यो, ‘तँ थारुको छोरालाई किन भन्ने, मलाई किन हप्की दप्की लाउने ?’ अनी मैले उसको कठालोमा समातेर झपारेको हो । तर, झापड भने हानीन । मैले अख्तियारमा समेत बयान दिएर, पहिला भएको भ्रष्टचारको बारेमा धेरै जानकारी दिएको छु । आशंका लागेका विषय अख्तियारलाई जानकारी गराएको छु ।

तपाई अरु कर्मचारीलाई भ्रष्टचारी भन्नुहुन्छ ? कर्मचारीले मात्र गर्छन त ? जनप्रतिनिधि विना भ्रष्टाचार कसरी संभव छ ?
म हिन्दु धर्मावलम्बी हुँ । मैले भ्रष्टाचार गरेको भए, गाईको मासु खाएको बराबर होस् । अहिलेपनि म आफ्नो पाखो बारीमा उव्जाएको तरकारी खान्छु । मलाई मिठो मसिनो खाने, राम्रो लाउने, ठूलो महलमा बस्ने ईच्छा छैन । मलाई सरकारले दिने तलबले पुग्छ । म अहिले कोठामा बसेको छु । चुनावमा ऋण लागेको छ । व्यापार व्यवसाय केही छैन । चुनाव खर्चको लागी मैले जग्गा बेचेको छु, कति ऋण तिर्न बाँकी छ । मेयरले राम्रो खायो भने, भ्रष्टचार गरेर खायो । राम्रो लायो भने भ्रष्टाचार गरेर लायो भन्ने परिपाटी छ ।

कुनै नागरिकले सामाजिक सञ्जालमा कुनै पदाधिकारीलाई लाञ्छना लगाए प्रहरीले पक्राउ गर्छ । तर, तपाई अरुलाई विना प्रमाण भ्रष्टाचारी भन्दै बेइज्यत गर्दा पनि खुलेआम हुनुहुन्छ कसरी ?
मसँग भ्रष्टाचारीको लिष्ट छ । प्रमाण पनि छ । यसैले आरोप लगाएको हुँ । मैले भ्रष्टचारीलाई कालोमोसो दल्दा कारवाही हुन्छ भने म भोग्न तयार छु । जहाँ भ्रष्टाचारीलाई कानुन संम्मत कारवाही हुँदैन, त्यहाँ केही कानुन हातमा लिएर पनि जनकारवाही गर्न मिल्छ । यसमा कसैले अन्यथा मान्नु पर्दैन ।

मेयरले यस्तो धम्की आवेशमा आएर दिएको देखिँदैन । मेयर जस्तो पदमा बसेर यस्तो धम्की दिन सुहाउँछ ?
म मेयर भएँ भन्दैमा जे गर्न पनि छुट छैन, मलाई पनि कारवाही भए भोग्न तयार छु । अदालतले जस्तो कारवाही गर्छ त्यो भोग्न तयार छु ।मैले पनि नाक भाँच्छु भनेर आबेशमा आएर भनेको हुँ । मलाई जे सजाय हुन्छ म त्यो सहन तयार छु ।

पत्रकारलाई किन झपारेको ?
मैले झपारेको होईन । जे पायो तेही लेख्यो, राम्रो कुरा गर भनेको हो । ‘भाई मलाई जे पायो त्यही कुरा नगर है, म लोपार्छु’ भनेको थिएँ । फेरी त्यही कुरा गरेर ‘ईरिटेड’ बनायो, अनी मैले लोपारिदिए । पत्रकारले कोठामा बसेर पनि शिष्टाचार रुपमा सोध्न सक्छ नी । बाटोमा घेरेर जे पायो त्यही मनपरी सोध्ने ? पत्रकार हुँ भन्दैमा शिष्टाचार हुनुपदैन ? उनीहरुले मलाई मनपरी तथानाम बोलेर सोधे, मैले लोपारेको हूँ ।

अपराध संहिताअनुसार कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरे एक वर्षसम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । तपाई सजायँ भोग्न तयार हो ?
म कानुनको विद्यार्थी होईन । तर, मलाई मलाई सबै कानुन थाहा छ । अदालतले के भन्छ भने, कसैलाई हत्या गरेपनि हत्या गर्ने मनसायले कसैले हत्या गरेको हो कि, भवितव्य रुपमा भएको हो त्यो हेर्छ र त्यो अनुसार सजाय तोक्छ, मैले पनि नाक भाँच्छु भनेर आबेशमा आएर भनेको हुँ । मलाई जे सजाय हुन्छ म त्यो सहन तयार छु ।

कानुनी शासनको खिलाफमा जाने तपाईको शक्तिको स्रोत के हो ? खुला धम्की र कानुनविपरीत अभिव्यक्ति प्रति सरकारको मौनता कि, पार्टीले के भनेको छ ?
मैले शंकर पोखरेल, योगेश भट्टराईको पनि फेसबुक हेरें । उहाँहरुले माफि माग्नुपर्छ भनेर लेखेको देखे । उहाँहरु मेरो नेता हो । उहाँहरुलाई सम्मान गर्छु म । तर, चाटुकारहरुले जे पायो त्यही लेखेको कुरा पत्याए मलाई भन्नुभएको छ । मलाई पनि उहाँहरुले सोधेर भन्नुभएको होइन । कसैले होच्याएर, स्याल हुईया मच्चाएर कारवाही गर्नुपर्छ भनेर हुन्छ ?

पार्टीले कारवाही गर्याे भने के गर्नुहुन्छ ?
कारवाही भए म भोग्छु । किसानको छोरा हुँ । बारी खनेर पनि खान्छु । बारी खनेर खाएर पनि जनताको सेवा गर्न सक्छु म । तर, मलाई कारवाही हुन्छ भन्ने कुरा विश्वास छैन । मलाई कसैको चाकडी चाप्लुसी गर्नुपनि छैन । गर्दिन पनि ।

पत्रकारसँग तपाईको मुख्य गुनासो चाहीँ के हो ?
प्रायोजित समाचारको लागी मलाई राजनीतिक जीवनमा क्षती भयो । त्यो क्षतीपुर्ती मलाई पत्रकारले दिन्छ ? मलाई देशभरीकाले फटाहा मेयर भन्छन् ? त्यो क्षतीपुर्ती कस्ले दिने ? म कस्तो प्रकृतिको मान्छे बुझ्न इटहरीका जनतालाई सोध्नुस् । उनीहरुले नराम्रो भने म फाँसीमा चढ्न तयार छु । हिजो खैनी खान नपाएका मान्छेहरु आज महलमा बस्छन् । त्यो कहाँबाट आयो ? हो त्यस्ता मान्छेलाई कारवाही भएन भने म कालोमोसो दल्छु भनेको हो ।

किन तपाईलाई यसरी अत्याधिक रिस उठ्छ ?
कसलाई रिस उठ्दैन, भोलेबाबा शंकरलाई त उठ्छ । म त एक जना मान्छे हुँ । उठ्छ ।

तपाईले कसैको नाक भाँच्ने धम्की दिँदा तपाईकै आफ्नो नाक जोगाउन सक्दिन कि भन्ने लाग्दैन ?
मेरो नाक सधैं उँचो छ । मेरो नाक जोगाउने जनता छन् । मैले कति काम गरेको छु जनतालाई सोध्नुस् । केही प्रायोजित समाचारमा के लेखेको छ भनेर थाहा हुँदैन ।

श्यामसुन्दर पुडासैनी/मकालु खबरबाट साभार

प्रकाशित मिति: २४ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्