इटहरीका मेयर चौधरीमाथि फौजदारी मुद्दा लगाउन सांसदको माग


 


काठमाण्डौँ । पत्रकारमाथि अभद्र व्यवहार गर्ने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कारबाही गर्न सांसदहरूले माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा उनीहरूले मेयर चौधरीले स्वतन्त्र पत्रकारिताको मूल्य–मान्यताविपरीत पत्रकारमाथि अभद्र व्यवहार गरेका भन्दै फौजदारी कानुनअन्तर्गत कारबाही गर्न माग गरेका हुन् ।

प्रतिनिधिसभाको बिहीबारको शून्य समयमा बोल्दै सांसद सुजाता परियार र हीरा गुरुङले यस्तो माग गरेका हुन् । सांसद परियारले भनिन्, ‘इटहरीको मेयरको हर्कत के हो ? पत्रकारमाथि नै आक्रामणको धम्की ? के हामीले प्राप्त गरेको लोकतान्त्रिक उपलब्धि यही हो ? यस्तो धम्की दिने मेयर चौधरीलाई कारबाही गरियोस् ।’

त्यस्तै सांसद गुरुङले पनि मेयर चौधरीलाई फौजदारी अपराधअन्तर्गत कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिन् । सो अवसरमा सांसद गुरुङले मेयर चौधरीले दुईतिहाइको दम्भ देखाएको पनि आरोप लगाइन् ।

उता नेपाली कांग्रेस इटहरी उपमहानगर समितिले पनि मेयर चौधरीलाई सार्वजनिक पदको जिम्मेवारी वहन गरी आफ्नो व्यवहार सच्याउन सुझाव दिएको छ । यदि आफ्नो जिम्मेवारी तथा व्यवहार नसच्याए मेयरविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

बिहीबार इटहरीमा पत्रकार सम्मेलन गर्दै उपमहानगर समितिका सभापति हेमकर्ण पौडेलले सार्वजनिक पदमा रहेका मेयर चौधरीलाई आफ्नो बोली–व्यवहार सच्याउन सुझाव दिएका हुन् ।

सो अवसरमा सभापति पौडेलले कर्मचारी कुटपिट, पत्रकारमाथिको अभद्र व्यवहार, भौतिक कारबाहीजस्ता गैह्रजिम्मेवार भनाइ र व्यवहार नसच्याए इटहरी कांग्रेस कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिए । केही दिनयता मेयर चौधरीको पत्रकारलाई फोनबाट धम्की दिँदै नाकको डाँडी भाँच्ने चेतावनी दिएपछि चौतर्फी आलोचना हुँदै आएको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्