जनतालाई प्रशोधित खानेपानी पुर्याउने कुरामा सरकार प्रतिबद्ध छ : मन्त्री मगर


 


दाङ । खानेपानी मन्त्री बिना मगरले शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पुर्याउन सरकार योजना बनाएर अघि बढीरहेको बताउनुभएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय घोराही दाङको आयोजना तथा जिल्ला खानेपानी सञ्जाल दाङको सह-आयोजनामा तुलसीपुरमा भएको खानेपानी संचालन तथा सुरक्षा योजना सम्बन्धी दुईदिने अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले सन् २०३० सम्ममा जनतालाई प्रशोधित स्वच्छ खानेपानीको सेवा पुर्याउने योजनामा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँ बस्ती, टोल र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ आयोजना सञ्चालन गर्ने तयारीमा छौं । शुद्ध खानेपानीको उपभोग गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो । यस कुरामा सरकार गम्भीर छ ।’

दाङ लगायत देशै भरीका विभिन्न सुख्खा क्षेत्रहरुमा खानेपानीका केही ठूला आयोजनाहरुको बारेमा अध्ययन गरिरहेको मन्त्री मगरले जानकारी दिनुभयो । मन्त्री मगरले भन्नुभयो, ‘प्रदेश र स्थानीय सरकार संग मिलेर केन्द्र सरकारले ठूला आयोजना अगाडि बढाउन र त्यसका लागि लगानी जुटाउने विषयमा मोडालिटीको बारेमा छलफल भैरहेको छ । सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ, जुन आफैंमा अति महत्त्वपूर्ण कुरा हो ।’

उहाँले दाङ जिल्लालाई महत्त्वपूर्ण प्राथमिकता दिएर पातुखोला जस्तो ठूलो आयोजनालाई मन्त्रालयले अघि बढाउन लागेको स्पष्ट पार्नुभयो । सरकारका आयोजनाहरुलाई कार्यान्वयन गर्न उपभोक्ता समितिहरुले खेलेको भूमिकाको मन्त्री मगरले प्रशंसा गर्नु भयो ।

कार्यक्रममा प्रदेश ५ का प्रदेश सभा सदस्य अमरबहादुर डाङगीले दाङ जिल्लामा भुमिगत र सतहका पानीका स्रोतहरु सुक्दै जान थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । राष्ट्रिय सभाका सदस्य कोमल ओलीले जलवायु परिवर्तन र वातावरणको प्रभावले नेपालका पानीका मुहानहरु सुक्दै गइरहेको बताउनुभयो ।

विकसित मुलुकहरूका कारण नेपाल जस्तो अति कम विकसित मुलुकलाई असर पर्दै गइरहेको उहाँले जिकिर गर्नुभयो । पानीको स्रोत संरक्षणमा स्थानीय, प्रदेश र केन्द्र सरकारले विशेष ध्यान दिनुपर्ने सदस्य ओलीले बताउनुभयो । दाङ जिल्लामा पिउने पानीको समस्या बढ्दै गइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीले दाङ जिल्लामा पानी र सिचाइको अभाव हुँदै गइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । चौधरीले दाङमा बढ्दो सहरीकरण र औद्योगिकीकरणका कारण पानीका स्रोतहरु सुक्दै गएको औंल्याउनुभयो ।

दाङ जिल्लामा क्रमागत खानेपानी आयोजनाहरुको संख्या १ सय ३३ वटा रहेको र जसमा ९० वटा योजना संघ अन्तर्गत र ४३ वटा आयोजना प्रदेश अन्तर्गत रहेर संचालित भैरहेको खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधी पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्