म युवा भएको भए ५० वर्ष शासन गर्थें : प्रधानमन्त्री ओली


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू युवा भएको भए ५० वर्ष शासन चलाउने टिप्पणी गरेका छन्। जीवनको महत्वपूर्ण कालखण्ड जेलमा व्यतीत गरेका प्रधानमन्त्री ओलीले बुधबार काठमाडौं महानगर पालिकाको ‘हाम्रो काठमाडौं हामी बनाउँछौं’ कार्यक्रममा उनले युवालाई उत्साहित तुल्याउँदै भने, “हिजैजस्तो लाग्छ राजनीति सुरू गरेको, ५४ वर्ष बितिसकेछ ।

सयम भएको भए अझै ५० वर्ष शासन चलाउँथेँजस्तो लाग्छ, तर, तानाशाहजस्तो लामो समय शासनमा बसिरहनेचाहिँ होइन ।” “तपाईंहरूको समय छ” उनले युवालाई अझै हौस्याए, “उत्पादन शील बन्नूस् ।” प्रधान मन्त्री ओलीले युवालाई इंगित गर्दै आफूले कृषि क्षेत्रमा इजरायली प्रविधि भित्र्याउन लागि परेको बताए । “युवालाई भन्न चाहन्छु- कृषि क्षेत्रमा इजरायल प्रविधि भित्र्याउने तयारी गरिरहेको छु ।”

उनले सन् ४७ मा बनेको इजरायलसँग लामो इतिहास नभएको भन्दै कृषिमा क्रान्ति नै ल्याइरहेको बताए । “इजरायलसँग खानेपानी पनि छैन, समुद्रको नुन छानेर पानी पिउनुपर्ने अवस्था छ,” उनले भने ।आफू जेलमा बस्दा एकजना इजराली नागरिकसँगै रहेको र ऊ जेलमा एकछाकमात्रै खाने गरेको सम्झँदै ओलीले जोड दिए, “ती नागरिक जेलमा एक छाक मात्रै खान्थेँ । एकदिन मैले सोधेँ- किन एकछाक मात्रै खान्छौ ? उनले भने- हाम्रो देशमा दुईछाक खाने चलन छैन ।”

उनले थपे “त्यो देशका नागरिक आज चारछाक खान्छन् । र, त्यसको दुईगुणा बाहिर निर्यात गर्छन् । तर, त्यो बालुवाको देश हो ।” त्यस्तै प्रधानमन्त्री ओलीले चीनको उदाहरण पनि दिए । आजभन्दा ४० वर्षअघि त्यहाँका जनता पनि गरिबै रहेको बताउँदै ओलीले भने, “चीनको जनसंख्या एक अर्ब ४० करोड छ । ती नागरिकलाई एकछाक भात खुवाउन हाम्रो यसपालीको बजेटजति पैसा खर्च हुन्थ्यो ।

कसैले एकछाक खुवाउने आँट गर्दैनथे । उनीहरूले बुझे– हामीले कचौरा पसारेर हुँदैन । थाल थापेर हुँदैन । त्यसरी चीन विकास भयो ।” उनले मरुभूमिमय देशहरू हराभरा भइसकेको बताउँदै उनले उदाहरण दिए- “तेल खानी भएका देशसँग तेलमात्रै छ । तर, हामीसँग जटिबुटी, सुन, फलाम सबै छन् । ढुंगा छुँदा शिलाजित हुन्छ । माटो सिम्रिक बन्छ । तुलसीजस्तो वनस्पती छ, पूजा गरे पनि भयो ।

औषधि बनाए पनि भयो । घाँटीमा लगाए पनि भयो ।” उनले नेपालको इतिहास लामो भएको बताउँदै भने, “चाँगुनारायणले १८ सय वर्षदेखि डाँडामा बसेर हेरिरहेका छन् । पेरिस कसरी बन्यो ? अमेरिका कहिले पत्ता लाग्यो ? एसिया कसरी पछाडि पर्यो?” नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत ओलीले भने नेपाली खानेकुराका परिकारमा पनि नेपालको वैशिष्ट्यता रहेको बताए । “परिकारका चौरासी व्यञ्जन भनिन्छ ।

त्यो नेपालमा मात्रै पाइन्छ,” उनको भनाइ थियो । उनले सबै कुरा हुँदा पनि नेपाल नोटका कारण पछाडि पर्नु परेको बताए । “जति पुँजी छ, त्यतिमात्र नोट छाप्न पाइन्छ, नोट नहुँदा गरिब भयौँ,” उनको भनाइ थियो । नेपालमा उपलब्ध स्रोत–साधनलाई पुँजीकृत गर्न नसकेकाले गरिबी बन्नुपरेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले चारवर्षअघि २०७२ फागुनमा म बनाउँछु मेरो धरहरा शुरू गरेको र त्यो आफ्नो देश आफैँ बनाउनुपर्छ भन्ने सन्देश भएको ओलीले बताए ।

प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्