पशुपति मन्दिरमा जम्मा भयो ९ किलो भन्दा बढी सुन


 


काठमाडौ : पशुपतिनाथ मन्दिरमा नौ किलो दुई सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको छ। पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवम् छानबिन समितिले बुधबार सार्वजनिक हो। प्रतिवेदनमा पशुपतिनाथ मन्दिरमा २०१९ सालदेखि २०७५ सालसम्ममा उक्त परिमाणको सुन भएको उल्लेख गरिएको छ । त्यसैगरी तीन सय १६ किलो पाँच सय ८६ ग्राम चाँदी रहेको छानबिन समितिका संयोजक डा. मिलनकुमार थापाले जानकारी दिए।

समितिका अनुसार उक्त विवरण विक्रम संवत २०१९ सालदेखि २०७५ सालसम्मको हो। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षसमेत रहेका थापाले विक्रम संवत २०१९ सालभन्दा अघिको विवरण भने प्राप्त हुन नसकेको बताए । पशुपति भगवानको नाम बेचेर यहाँ मानिसहरु धनी हुदै गएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदिप ढकालले बताए। उनले भने,’ त्यस्तो प्रयासलाई हामीले असफल बनाइसकेका छौ ।

‘ प्रतिवेदनमा आएको सम्पत्ति यहि हो र पशुपति भगवान रहिन्जेल सम्पति रहने उनको भनाइ छ । त्यसैगरी पशुपतिनाथ मन्दिरमा हालसम्म १ अरब २९ करोड ३८ लाख ३१ हजार नगद जम्मा भएको छ । छानविन समितिका अनुसार त्यसमध्ये एक अरबको अक्षय कोष स्थापना गरी सामाजिक सेवाको क्षेत्र तथा विपद् व्यवस्थापनमा खर्च गर्ने गरिएको छ । समितिका संयोजक थापाले हाल मन्दिरको दर्ता प्रमाणित भएका जग्गा पाँच हजार ७७ रोपनी १३ आना २ पैसा १ दाम जग्गा रहेको जानकारी दिए। उनका अनुसार सर्लाही र रौतहटमा पशुपतिको जग्गा छ।

उनले भने,’ भू-माफिया पनि बढी त्यहीँ जिल्लामा छ। सञ्चारकर्मीहरुले पशुपतिको जग्गा र सम्पत्तीको बारेमा सही सुचना दिनुहोस।’ पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले २०७४ कात्तिक ६ गते पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानबिन समिति गठन गरेको थियो । उक्त समितिले समयमा प्रतिवेदन बुझाउन नसकेपछि २०७५ साउन २९ गते ६ महिना म्याद थप गरिएको थियो। समितिले हालै प्रतिवेदन तयार गरेर बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्