सुनसरीमा सञ्चारकर्मीमाथि सांघातिक आक्रमण


 


सुनसरी, जेठ २२
सुनसरीको धरानका सञ्चारकर्मी दिलबहादुर राईमाथि कार्यकक्षमा सांघातिक अक्रमण भएको छ। गएराति धरान–१२ चतरालाइन स्थित अनलाइन टीभीमा काम गरिरहेका वेला अचानक आक्रमण भएको राईले जानकारी दिए।

उनलाई अपरिचित ५–६ जनाको समूहले आक्रमण गरेको हो। राईको टाउकोमा गहिरो चोट लागेको छ। उनको टाउकोमा ६ टाँका लगाइएको छ।

राईलाई मंगलबार राति नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारपछि घर पठाइएको छ। राईलाई हमला गर्नेमध्ये एक फुर्वा शेर्पालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। इप्रका धरानका डीएसपी ढुण्डीराज न्यौपानेले पक्राउ परेका शेर्पाको बयानसँगै थप अनुसन्धान अगाडि बढाएको जानकारी दिए।

बोलाइयो मिसन टोली

यसैबीच जिल्लामा कार्यरत पत्रकारहरू असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले केन्द्रबाट मिसन टोली बोलाएको छ। इटहरी उपमहागरका प्रमुख द्वारिकलाल चौधरीले इटहरीका पत्रकारलाई पटक–पटक धम्की दिनुका साथै धरानमा एक जना पत्रकारमाथि आक्रमण भएपछि मिसन टोली बोलाएको हो।

पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काका अनुसार घटनाको यथार्थ बुझ्न केन्द्रीय कार्यालयबाट मिसन टोली बोलाइएको जानकारी दिए। इटहरीका दुई पत्रकारलाई दुर्व्यवहार गरेर माफी मागेको दुई साता नबित्दै चौधरीले मंगलबार अर्का पत्रकार विराट अनुपमलाई नाकको हड्डी भाँच्ने धम्की दिएका छन्। मेयर चौधरीले पत्रकार अनुपमलाई फोनमा ‘तिम्रो नाक भाँच्न एक करोड छुट्याएको’ भनी धम्की दिएको अडियो ‘भाइरल’ भएको छ। नेपाल पत्रकार महासंघ सुनसरीले मेयरको यस्तो क्रियाकलापप्रति आपत्ति जनाएको छ।

प्रकाशित मिति: २२ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्