प्रधानमन्त्री रोजगार कार्यक्रम : कोहलपुर नगरपालिकाद्वारा ५८ जनालाई रोजगार


 


बाँके । बाँकेका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई रोजगार दिन थालेका छन्।

कोहलपुर नगरपालिकाले ५८ जना युवालाई रोजगार दिएको छ। पहिलो चरणमा पाँच वटा वडाका बेरोजगार युवालाई रोजगार दिएको नगरपालिकाका रोजगार अधिकृत भद्र थापाले जानकारी दिए। उनले भने, ‘पहिलो चरणमा वडा नम्बर ३, ८, ११, १२ र १३ का युवालाई एक महिनाका लागि रोजगार प्रदान गरिएको छ।’

कार्यक्रमअन्तर्गत एउटा वडाबाट १५ जनाका दरले ३०० युवालाई यसै आर्थिक वर्षमा रोजगार दिने योजना रहेको नगरपालिकाले बताएको छ। राजगारीका लागि छनौट गरिएका युवालाई सुरुवाती चरणमा सरसफाइ कार्यमा खटाएको छ। यसपछि वडा कार्यालयबाट आएका योजनाको आधारमा काममा खटाइने रोजगार अधिकृत थापाले बताए।

युवाको योग्यता, क्षमता, दक्षता र सीपअनुसार काम दिइने बताइएको छ। उनले धेरैजसो युवालाई विकास निर्माणमा खटाइने छ। थापाले भने, ‘पढेलेखेका युवालाई कार्यालयको काममा खटाइने छ।’

नगरपालिकामा पाँच हजार २५ जनाले बेराजगार रहेको फाराम भरेका छन्। तीमध्ये विपन्न, अल्पसंख्यक, सीमान्तकृत र पिछाडिएका समुदायको युवालाई छनोट गरी रोजगार दिइएको नगरपालिकाले जनाएको छ।

नेपालगन्ज उपमहानगरपालिकाले पनि रोजगारी दिने तयारी गरेको छ। उपमहानगरका रोजगार अधिकृत हरिबोल भट्टराईले वडाबाट योजना माग गरिएको बताए। उनका अनुसार एक साताभित्र प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु हुने अधिकृत भट्टराईको भनाए छ। उनले भने, ‘वडाबाट योजना आउना साथ कार्यक्रम सुरु हुन्छ।’

नेपालगन्ज उपमहानगरपालिकामा ४१८ जना युवालाई रोजगार दिने बजेट रहे पनि समय नभएकाले अन्योल रहेको बताइएके छ।

प्रकाशित मिति: २२ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्