काउकुती लगाउँछु भन्दै काखमा राखेर ६९ वर्षीय वृद्धद्वारा ६ वर्षीया बालिकालाई बलात्कार


 


काठमाडौं, जेठ २१
प्रहरीले रामेछाप घर भएकी ६ वर्षीया बालिका बलात्कार गर्ने एक वृद्वलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–९ लुबु लामाटार घर भएका ६९ वर्षीय शिव प्रसाद घिमिरे रहेका छन् ।

घिमिरेले गत जेठ १५ गते स्कुलबाट घर फर्किरहेकी बालिका (नाम परिवर्तन) सोनियालाई ललाईफकाई घर लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त, सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले रातोपाटीलाई जानकारी दिए ।

डीएसपी मिश्रले भने, ‘सोनियालाई घिमिरेले एक्लै फर्किरहेको देखेपछि बोलाएर घरमा लगेर दही, रोटी र तरकारी खुवाएछन । त्यसपछि काउकुती लगाउँछु भन्दै काखमा राखेर बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।’

घिमिरेले सोनियालाई पछि यो कुरा कसैलाई नभन भन्दै १० रपैयाँ दिएको समेत प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी मिश्रले बताए । घरमा कसैलाई नभनेकी सोनियाले स्कुलको साथीलाई भनेपछि घटना बाहिर आएको बताइएको छ ।

घटनाबारे बालिकाकी आमाले थाहा पाएपछि जेठ १७ गते प्रहरी वृत्त सातदोबाटोमा घिमिरेमाथि उजुरी दिएकी थिइन् । बालिकाको आमाको जोहरीपछि प्रहरीले जेठ १९ गते घिमिरेलाई घरबाटै पक्राउ गरेको डीएसपी मिश्रको भनाई छ ।

पक्राउ परेका घिमिरेमाथि अदालतबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घिमिरेले यसअघि पनि बालिकाहरुलाई प्रलोभनमा पारेर बलात्कार गर्दै आएपनि स्थानीयले सानातिना घटना भन्दै गाउँमै मिलाउँदै आएको एक स्थानीय बताउँछन् ।

यता बालिकाको थापाथलीस्थित प्रसुती गृहमा सामान्य उपचारपछि घर फिर्ता गरिएको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्