धरानमा डेंगुको प्रकोप, ८० जनामा संक्रमण


 


सुनसरी, जेठ २१

सुनसरीको धरानमा डेंगु नियन्त्रणबाहिर गएपछि स्वास्थ्य सेवा विभागका महानिर्देशकसहितको टोली सोमबार धरान पुगेको छ। डेंगु नियन्त्रण हुन नसकेपछि स्थानीय सरकारले प्रदेश सरकार र संघीय सरकारसँग सहयोग माग गरेसँगै महानिर्देशक डा. गुणराज लोहनी नेतृत्वको टोली धरान पुगेको हो।

डा गुणराज लोहनीले डेंगु प्रभावित क्षेत्रको वस्तुस्थिति बुझेर नियन्त्रणको प्रयास थाल्ने बताए। डेंगु फैलिएको तीन साताको अवधिमा धरान उपमहानगरपालिकाले नियन्त्रणको प्रयास गर्दागर्दै पनि डेंगु नियन्त्रण हुन नसकेपछि उपमहानगरपालिकाले प्रदेश र संघीय सरकारलाई पत्रचार गरी सहयोग माग गरेको धरान उपमहानगरपालिका स्वास्थ्य सेवा विभाग प्रमुख रामबाबु यादवले बताए। डेंगुको प्रकोप फैलिएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान उपमहानगरपालिकाको संयुक्त टोली र्‍यापिड रेस्पोन्स टिमको बैठक बसेर डेंगु नियन्त्रणलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको थियो।

उपमहानगरपालिकाले केही दिनअघि लामखुट्टे मार्न औषधि समेत छर्‍यो। तर यी सबै प्रयास बिफल भएपछि नगरवासी पनि त्रसित भएको स्थानीय विष्णु लिम्बुले बताए। धरानको वडा नं। ५, १५, ८ र १३ मा डेंगु सार्ने लामखुट्टेको अण्डा र लार्भा भेटेको छ। यसले गर्दा धुवाँ लगाएर मात्रै धरानमा डेंगु नियन्त्रण हुन नसक्ने टोलीको ठहर छ। यसलाई नियन्त्रण गर्न लामखुट्टेको बासस्थान नै नष्ट गर्नुपर्ने र सफा पानी जम्न नदिनेलगायतका काम गर्नुपर्ने भए पनि प्रभावकारी हुन सकेको छैन। अहिलेसम्म धरानमा ८० जनामा डेंगु संक्रमण भएको पुष्टि भइसकेको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्