नेकपामा कार्यविभाजन : कुन नेतालाई के जिम्मेवारी ?


 


काठमाडौं । सत्तारुढ नेकपाले पार्टी एकताको एक वर्षपछि केन्द्रीय नेताहरूको कार्यविभाजन गर्दै छ। यसका लागि मंगलबार दिउँसो सचिवालय बैठक बस्ने महासचिव विष्णु पौडेलले बताए। संगठनात्मक एकीकरणका बाँकी काम बैठकका एजेन्डाका रूपमा राख्दै कार्यविभाजनको निर्णय लिइने उनको भनाइ छ।

आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–‘मंगलबार दिउँसो ३ बजे सचिवालय बैठक बस्दै छ’, महासचिव पौडेलले भने, ‘संगठनात्मक एकीकरणका बाँकी कामका विषयमा निर्णय लिन्छौं।’ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली यही जेठ २५ मा नौ दिनका लागि युरोप भ्रमणमा जान लागेका छन्। त्यही भएर नेकपाले कार्यविभाजन टुंग्याउन लागेको हो। यसबारे दुई अध्यक्ष ओली र पुष्पकमल दाहालले आइतबारदेखि दुई दिन ‘वन टु वन’ छलफल गरेका थिए। उनीहरूले वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव पौडेल र सचिवालय सदस्य रामबहादुर थापासँग पनि एक्लाएक्लै अनि संयुक्त रूपमा छलफल चलाए।

महासचिव पौडेलले कार्यविभाजन प्रस्ताव तयार पारी दुई अध्यक्षलाई बुझाएका थिए। अध्यक्षद्वयले चरण-चरणमा छलफल गरेपछि प्रस्ताव सचिवालयमा पेस गर्न लागिएको हो। संगठन, स्कुलिङ, विदेश मामिला, प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी हात पार्न नेताहरू लागेका थिए। त्यसैले कार्यविभाजन टुंग्याउन नेतृत्वलाई सकस परेको थियो।

संगठन विभाग हाँक्न नेताहरू वामदेव गौतम, रामबहादुर थापा र ईश्वर पोखरेल आकांक्षी छन्। स्कुलिङमा पनि पोखरेलसहित नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, आर्थिकमा महासचिव पौडेलको नाम चर्चामा छ। विदेश मामिलामा वरिष्ठ नेता नेपालको नाममा सहमतिजस्तै बनेको छ।

नेकपामा ३२ विभाग छन्। मुख्य-मुख्यमा सचिवालय सदस्यलाई जिम्मा दिने तयारी रहेको स्रोतको भनाइ छ। अर्थ तथा योजना, प्रचार तथा प्रकाशन, प्रादेशिक मामिला, पार्टी स्कुलिङ, राजकीय मामिला तथा सुशासन, विदेश मामिलाजस्ता विभाग महत्वपूर्ण छन्।

प्रकाशित मिति: २१ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्