सोलुमा बिप्लवका सैन्य पोशाक लगाएका करिब २५ जनाको समूह पसेको खुलाशा


 


काठमाण्डौँ, जेठ २०

सोलुखुम्बुको दुर्गम छेस्काम प्रहरी चौकीमा सैन्य पोशाक लगाएका करिब २५ जनाको समूह पसेको खुलेको छ । सशस्त्र प्रहरी बलले उक्त कुराको पुष्टि गरेको हो।

‘हामीलाई प्राप्त सूचना अनुसार छेस्काम प्रहरी चौकीका कम्ब्याट लगाएका करिब २५ जना हतियारधारी पसेका रहेछन्’, सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले भने, ‘तर प्रहरी त्यहाँबाट अलआउट भएकाले केही घण्टा चौकीमै बसेर बिहान हिँडेको स्थानीयले बताएका छन्।’

प्रवक्ता श्रेष्ठका अनुसार हतियारधारी समूह आउने सूचना पाएपछि ४ जना प्रहरी आफ्ना हतियारसहित सुरक्षित स्थानतर्फ लागेका थिए। ‘प्रहरीले हतियार अरु सामान लिएर अलआउट भएछन्। त्यसपछि त्यो हतियारधारी समूह मध्यराति चौकीमा आएर बसेको खुलेको छ। तर उनीहरुले त्यहाँ कुनै किसिमको तोडफोड गरेको पाइएन।’ आइतवार साँझ चौकीबाट निस्केको प्रहरी टोली थप टोलीसहित बिहानै चौकीमा फर्किएको थियो ।

सदरमुकामबाट डिएसपी शालिकराम शर्मासहितको टोली महाकुलुङको छेस्काममा दुई दिनअघि नै गएको थियो। ‘कम्ब्याटसहितका हतियारधारी कुन समूहका हुन् भन्ने खुलेको छैन, तर हाम्रो आशंका विप्लवकै कार्यकर्तामाथि छ’, श्रेष्ठले भने, ‘अहिले त्यस क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजबिन गरिरहेको छ ।’ थप सुरक्षा बल छेस्काममा सशस्त्र प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार छेस्काममा जिल्ला सदरमुकाम सल्लेरी, काठमाडौं र प्रदेश राजधानी विराटनगरबाट दुवै प्रहरीको टोली पुगेको छ।

काठमाडौंबाट सशस्त्र प्रहरीको ११ र जनपथ प्रहरीको २० जनाको टोली हेलिकोप्टरबाट छेस्काम पठाइएको छ। प्रदेश राजधानीबाट सशस्त्रको १६ जनाको टोली पनि छेस्काममा उत्रिएको छ । आक्रमण होइन थ्रेट हो सशस्त्र प्रवक्ता श्रेष्ठले छेस्काम घटनालाई चौकी आक्रमण नभइ सुरक्षा थ्रेट मात्रै भएको बताए । ‘सोलुखुम्बुको घटनमा विप्लवमाथि शंका गरएको छ। चौकीमा आक्रण भएको होइन, थ्रेट चाहिँ हो’, उनले भने, ‘अहिलेसम्म कोही पक्राउ परेका छैनन्। संयुक्त टोलीले सर्च अप्रेशन जारी राखेको छ।’ – थाहा खबरबाट

प्रकाशित मिति: २० जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्