१७ वर्षपछि नेपालका प्रधानमन्त्री बेलायत भ्रमणमा,


 


काठमाडौं प्रधानमन्त्री केपी ओली बेलायतको औपचारिक भ्रमणमा जाने भएका छन् । १७ वर्षपछि नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण तय भएको हो । यसअघि सन् २००२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत आएका थिए । बेलायती प्रधानमन्त्री टेरेजा मेको निमन्त्रणामा ओली बेलायत आउन लागेका हुन् ।

मेले रक्षा राज्यमन्त्री मार्क ल्यान्कास्टर गत मार्चमा नेपाल भ्रमण जाँदा समकक्षी ओलीलाई बेलायत भ्रमणको औपचारिक निमन्त्रणा पठाएकी थिइन्। बेलायती प्रधानमन्त्री मेले जुन ७ तारिख पदबाट राजीनामा दिने घोषणा गरेसँगै बेलायतमा राजनीतिक अस्थिरताबीच ओलीको भ्रमण हुन लागेको हो।

प्रधानमन्त्री ओली र मेबीच ११ तारिख बिहान भेटवार्ता तय भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। ’बेलायत नेपाल द्विपक्षीय हित, सम्बन्ध र सहयोगबारे नै वार्ता हुनेछ’, लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले कान्तिपुरसँग भने, ’यस भ्रमण दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन कोशेढुंगा हुने विश्वास गरिएको छ।’ ओलीले अन्य बेलायती पदाधिकारीहरुसँग समेत भेटवार्ता गर्नेबारे गृहकार्य भइरहेको आरणले जनाए।

जेनेभामा आइएलओ सम्मेलन सकेर प्रधानमन्त्री ओली १० जुनमा लन्डन आइपुग्ने कार्यक्रम छ। त्यही साँझ ओलीले अक्सफोर्ड विश्वविद्यालयले साढे ८ बजे अक्सफोर्डमा गर्ने कार्यक्रमलाई सम्वोधन गर्ने छन्। प्रधानमन्त्री ओली १२ जुन बिहान ८.३० बजे दूतावासले गर्ने रिसेप्सनमा समेत सहभागी हुनेछन् भने आन्दोलनरत भूतपूर्व गोर्खाहरु र नेपाली समुदायसँग समेत अन्तरक्रिया गर्ने तयारी छ।

बेलायत नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको २०३ वर्षे इतिहासमा बेलायती प्रधानमन्त्रीले भने अहिलेसम्म नेपाल भ्रमण गरेका छैनन्। हरेक बेलायती प्रधानमन्त्री छिमेकी भारत जाने गरे पनि नेपालचाहिँ नपुग्नु दुःखद भएको यहाँको नेपाली डायस्पोराको गुनासो छ। बेलायतपछि ओली १२ जुनमा फ्रान्स जाने जनाइएको छ।

प्रकाशित मिति: १९ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्