प्रचण्डको दाबी – ‘विप्लव पनि नेकपामा आउँछन्’


 


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबन्धित समूहका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ ढिलोचाँडो आफ्नै पार्टीमा आउने बताएका छन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा सो समूहका पोलिटब्युरो सदस्य एवम् पूर्वराज्यमन्त्री पदम राईलाई भित्र्याउँदै उनले विप्लव समूहको गतिविधि औचित्यहीन रहेको बताएका हुन् ।

“एकदिन विप्लव पनि नेकपामा आएर जोडिनुपर्छ । अरू कम्युनिस्टहरू पनि यो पार्टीमा जोडिनुपर्छ । अहिले जुन बाटोमा हिँडिएको छ, गन्तव्यमा पुगिने बाटो होइन त्यो । त्यसले राष्ट्र र जनतालाई दुःख र क्षतिमात्रै हुन्छ,” उनको भनाइ थियो ।

विप्लवसमेत संलग्न भएर ल्याएको गणतन्त्र, संघीयता संस्थागत गर्नु नै आजको कार्यभार रहेको बताउँदै प्रचण्डले भने, “आफ्नो उपलब्धीलाई संस्थागत गरौँ । तबमात्र अगाडि बढौँ ।” सरकारले आगामी वर्षका लागि पेश गरेको नीति तथा कार्यक्रम र बजेटले सापेक्षिक रूपले तल्लो वर्ग, जाती, समुदायलाई सम्बोधन गर्ने, सामाजिक सुरक्षा र न्यायसहितको विकासको नयाँ मोडल भएको उनको दाबी थियो ।

प्रकाशित मिति: १९ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्