सुरु भयो सशस्त्र भ्रष्टाचारको बयान, लोकमानले पूर्वाग्रही भएर मुद्दा लगाएको दाबी


 


काठमाडौं । सशस्त्र प्रहरीका चार जना पूर्वआईजीपी संलग्न भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाई सुरु भएको छ ।पूर्वआईजीपीहरु वासुदेव वली, सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र कोषराज वन्तसमेत १९ जना सशस्त्र प्रहरी अधिकारी तथा जवान संलग्न भएको भ्रष्टाचार मुद्दाको सुनुवाई सुरु भएको हो । विशेष अदालत स्रोतका अनुसार भ्रष्टाचार मुद्दामा अहिलेसम्म चार जना पूर्वआईजीपीका वकिलसहित अरु उच्च अधिकृतहरुको तर्फबाट वकिलले बकपत्र पेस गरेका छन् ।

आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य कार्यमा प्रतक्ष्य संलग्न रहेका देखिएको’ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

पदमा बहाल रहिरहँदा आफ्नो विरुद्धको प्रमाण लोप वा नास गर्न सक्ने र अनुसन्धान तहकिकातको कार्यमा समेत बाधा व्यवधान पु¥याउन सक्ने भन्दै तत्कालिन आईजीपी वन्तसहितका अधिकारीलाई निलम्बन गरिएको थियो ।

सशस्त्र प्रहरी बलले खरीद भएका सामान ढुवानी गरी देशभरका आफ्नो युनिटमा पठाउन टेण्डर आह्वान गरी सदाज्योती सप्लायर्ससँग सम्झौता गर्दा सम्झौता बमोजिम ढुवानी नगरी नक्कली बिल बनाई करोडौं भ्रष्टाचार गरेको भन्ने लगायतका उजुरी परेका थिए ।

विशेष अदालतमा सुरु भएको बयानमा सशस्त्र अधिकारीहरुले भ्रष्टाचार आरोप अस्वीकार गरेका छन् । उनीहरुले अख्तियारका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीले पूर्वाग्रही भएर मुद्दा लगाएको दाबी गरेका छन् ।

बकपत्रमा अभियोग दाबीमा उल्लेख गरेको विषयमा कुनै भ्रष्टाचार नभएको उल्लेख छ । महालेखा परीक्षकको ४७, ४८ र ४९ औं प्रतिवेदनमा पनि कुनै अनियमितता नभएको स्पष्ट पारिएको छ ।

आरोपीहरुले अख्तियारले संवैधानिक र कानुनी अधिकार क्षेत्र नै नरहेको ठाउँमा पूर्वाग्रही भएर मुघा लगाएको दाबी गरेका छन् । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध लगाइएको महाअभियोग दर्तामा पनि सुरक्षा निकायलाई कमजोर गर्ने मनस्थिति देखिएको स्मरण गराइएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्