उडिरहेकै विमानमा ओलीको अन्तरवार्ता, सरकार फेरिन्छ भन्नेहरुलाई प्रधानमन्त्रीले दिए यस्तो दनक भिडियो सहित


 


काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र मोदीबीच नेपाल भारत द्धिपक्षीय सम्बन्धलाई कसरी अझै नयाँ उचाईमा लैजाने भन्ने विषयमा कुराकानी भएको स्पष्ट पारेका छन् । नेपालको विकास र समृद्धिमा भारतको र खासगरी मोदीको पूर्ण साथ र सहयोग रहनेपनि ओलीको विश्वास छ ।

मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली भारत पुगेका थिए । दुई दिने भारत भ्रमण सम्पन्न गरि स्वदेश फर्किने क्रममा प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलालाई आकाशमा जहाज उड्दै गर्दा ओलीले अन्तर्वार्ता दिएका छन् । उनले आफू र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धपनि सुमधुर रहेको जिकिर गरे । पत्रकार धमला र ओलीबीचको कुराकानीको सम्पादित अंश स्

यसपटकको भ्रमणमा तपाई र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच के-के कुराकानी भयो ?

यस पटकको मेरो भारत भ्रमण खासगरि मोदीलाई बधाई दिने, कार्यकाल सफल रहोस भनेर शुभकामना दिने, उहाँको सपथग्रहण कार्यक्रममा सहभागी हुने उद्देश्यका साथ म भारत आएको हुँ । त्यसकारण धेरै कुराहरुको छिनोफानो गर्ने, द्धिपक्षीय प्रश्नहरुमा धेरै अल्झिने खालको थिएन ।

शुभकामना आदान प्रदानजस्तो कुरा हो । त्यसकारण अहिले भर्खर चुनावपछि सरकार बन्दै गरेको, उहाँहरु व्यस्त रहेको अवस्थामा आपसी सम्बन्धलाई (जो हाम्रो ऐतिहासिक सम्बन्ध छ) त्यसलाई अझ प्रगाढ बनाएर लिएर जाने, आगामी दिनमा सम्बन्धलाई अझ निकट बनाएर लिएर जाने सम्बन्धमा छलफलहरु भए । केही विषयहरु चल्तेचलाते सन्दर्भमा उठेका मात्रै हुन् । अरु कुरा हामीले पछि उपयुक्त समयमा गरौंला । र, खास च्यानलहरुमार्फत गरौंला भनेर धेरै विषयहरुमा प्रवेश गरेनौं । हामीले मित्रताका कुरा गर्यौं । शुभकामनाका कुरा गर्यौंं । र, दुई देशबीचका सम्बन्धलाई सुदृढ बनाउने कुरा गर्यौं ।

तपाई नेपाली जनताले मन पराएको नेता हो । तपाईसँग दुई तिहाई मत छ । तपाई शक्तिशाली प्रधानमन्त्री हो । र, भारतीय प्रधानमन्त्री मोदीपनि जनताको प्रचण्ड बहुमतबाट प्रधामन्त्री बन्नुभएको छ । तपाई र मोदीबीच केमेष्टी मिलेको छ । अब सम्बन्ध राम्रो हुन्छ भनेर धेरै भन्न थालेका छन् । के अब साँच्चिकै नेपालले विकास र समृद्धिको यात्रामा अघि बढ्न लागेको हो ?

अवश्य नै । म प्रधानमन्त्री भएपछि नेपाल र भारतका बीचको सम्बन्ध बिग्रिएको अवस्थाबाट सप्रिएको छ । र, सप्रिँदै गएको छ । पारस्परिक विश्वासको वातावरण बनेको छ । र, अहिले मोदीजी र मैलेपनि धोकापुर्ण ढंगले कुरा गर्ने अथवा छलछामपूर्ण कुरा गर्ने गरेका छैनौं । परस्परमा मन खोलेर कुरा गर्ने गरेका छौं । समस्याहरु राख्ने कुरा गरेका छौं । समस्याहरु समाधान गर्ने कुरा राख्ने गरेका छौं । त्यसकारण सम्बन्ध नयाँ उचाईका साथ र नयाँ गतिका साथ अगाडि बढ्छ भन्ने कुरा कुनै द्धिविधा छैन् ।

तपाई एकदमै भीजन भएको नेता हो । मोदीपनि भीजन भएको हो राजनेता । तपाई र मोदीबीच आजपनि भेटवार्ता भएको थियो । साँच्चिकै अहिले दाबी गरिएजस्तै नेपाल र भारतबीचको सम्बन्ध सुमधुर र नयाँ उचाईमा पुगेको हो ?

अवश्य नै । अहिले हाम्रो बीचमा समस्याहरु छैनन, तर विषयहरु छन् । ती विषयहरु पनि कुरा गरेर समाधान गर्न सकिन्छ । त्यही ढंगले कुराकानी भएको छ । र, कुराहरु अगाडि बढाउँदै जाने र समस्याभन्दापनि विषयहरु जो छन् ती सबैलाई कुराकानीको माध्यमबाट टुँगो लगाउनेबारे कुराकानी भएको छ ।

ईपिजीको प्रतिवेदन दुवै देशको लागि स्वीकार्य छ भनिएको छ, साँच्चिकै त्यो प्रतिवेदन तपाई र मोदीले कहिले बुझ्नुहुन्छ ?

त्यो प्रवुद्ध व्यक्ति समूहको निर्णय के रह्यो भने पहिले यो प्रतिवेदन भारतका प्रधानमन्त्रीलाई बुझाउने । र, त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने । उहाँहरुले त्यो समझदारी बनाएको हुनाले उहाँहरु भारतका प्रधानमन्त्रीलाई बुझाउने तयारीमा हुनुहोला । किनभने यसविचमा चुनाव भयो । अहिले सरकार बन्ने सिलसिला, मन्त्रीहरुको जिम्मेवारीको बाँडफाँडको सिलसिला सबै भएको बेला यस विषयले त्यस्तो तात्कालिक बढि महत्व नपाउनु एउटा कुरा हो । तर, अब भारतका प्रधानमन्त्रीलाई बुझाउने कुराको तयारी उहाँहरु गर्दै हुनुहुन्छ भन्ने मैले ठानेको छ ।

यसबारेमा तपाई र मोदीबीच कुरा भयो त ?

यसबारेमा कुरा हुनुपर्ने विषय होईन । किनभने त्यो बुझाउनमात्रै बाँकी हो । बुझाउनको लागि ईपिजीले आफैं समय लिएर बुझाउने कुरा हो ।

तपाई दुई तिहाईको प्रधानमन्त्री हुनुहुन्छ ? तपाईले आफ्नो भीजनलाई साकार पार्नको लागि भारत, चीन, अमेरिका, जापान, युरोपियन युनियनलगायतका देश, र पार्टी्भित्रै र बाहिरबाट सहयोग पाउनुभएको छ ?

मैले सबैतिरबाट सहयोग प्राप्त गरेको छु । सबैसँग सम्बन्ध राम्रो छ । हाम्रो नीति पनि हाम्रो कोही विरोधी छैनन् । कोही शत्रु छैनन् । सबै मित्र छन् । यो नै हाम्रो नीति हो । त्यसअनुसार हाम्रो दक्षिणको छिमेकीसँग, उत्तरको छिमेकीसँग, र अरु छिमेकीभन्दा अरु मित्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर छ । हामी परस्परमा सम्बन्ध अघि बढाईरहेका छौं । त्यसकारण सम्बन्धको सुमधुरतामा कुनै समस्या छैन् ।

मोदी, सि जिनपिङसँग यहाँको अत्यन्तै प्रगाढ सम्बन्ध छ, नेपालको विकासमा उहाँहरुको साथ र सहयोग लिने दुरदर्शी भीजन र जादुको छडी तपाईसँग छ त ?

मैले नेताहरुसँग कुरा गरेको छु । र, हामीले सबैबाट सहयोग, साथ र समर्थन प्राप्त गरेका छौं । त्यो नेपालका लागि खुशीको कुरा हो । हामी सबैसँग मैत्रीपूर्ण सम्बन्ध राखेर पारस्परिक लाभ र हितका आधारमा अघि बढ्छौं । नेपालको हितलाई केन्द्र भागमा राख्ने काम गर्छौं ।

नेपाल(भारत सम्बन्धमा सिमालगायत धेरै विषयमा समस्याहरु छन्, त्यसको समाधानको लागि ईपिजीको प्रतिवेदन तयार भएको छ । यसको गाँठो कहिले फुक्ला त ?

त्यो छिट्टै नै, अब उहाँहरुको चुनाव बल्ल सिद्दियो । त्यसको समय छिट्टै आउला भन्ने मैले सोचेको छु ।

उसो भए यतिवेला नेपाल र भारतबीचको सम्बन्धमा कुनै दरार छैन ? सबै राम्रो भएको हो ?

म त्यस्तो दरार देख्दिन् । केही विषयहरु छन्, जो छलफल गरेर टुग्याउन सकिन्छ । छलफल गर्नुपर्छ । छिमेकी भएको हुनाले छिमेकीसँग सिमा नाकाका समस्या हुने नै भए । ती कुराहरुलाई टुँगो लगाउनुपर्छ ।

तपाईको नेपाललाई विकास र समृद्ध बनाउने एजेण्डामा भारतीय प्रधानमन्त्री मोदीको साथ छ ?

अवश्य पनि । उहाँको साथ र सहयोग छ । उहाँ नेपाल आउँदापनि यो कुरा बोल्नुभएको हो । समृद्ध नेपाल, सुखी नेपालीको राष्टिय आकांक्षा त्यस सम्बन्धमा उहाँले समर्थन गरेर बोल्नुभएको हो । अहिले त्यस सम्बन्धमा हामीले सहकार्य गरिरहेका छौं ।

तपाई र तपाईकै पार्टीका अर्का अध्यक्ष प्रचण्डबीच सरकार आलोपालो चलाउने विषयमा सहमति भएको हो कि होईन ?

यो अहिलेको कुनै विषय नै होईन, जुनबेला म विदेश भ्रमणमा हुन्छु त्यसबेलामा कुनै न कुनै यस प्रकारका कुरा निस्किन्छन् । स्थिरता भनेको नीतिमा हो । स्थिरता भनेको बहुमतको सरकारमा हो । र, स्थिरता भनेको नेताहरुका बीचको सहमति र सहकार्यको कुरा हो । यसलाई अनेक ढंगले टिप्पणी गरिरहनुपर्ने, उछालिरहनुपर्ने यो हाम्राबीचमा के कुरा भएको छ ? भनेर उचालिरहनुपर्ने आवश्यकत्ता नै छैन् । जुन कुरा, यो कुनै नयाँ कुरा त होईन । गत वर्ष हामीले जुन सहमति गर्यौं । पार्टी एकता गर्यौं । त्यो कुरा त कुनै नयाँ कुरा होईन । अहिले आएर बेलुन बनाएर फुकिरहनुपर्ने कुनै आवश्यकत्ता नै छैन् । त्यो त गत वर्षको सहमति हो । गत वर्ष नै सार्वजनिक भैसकेको कुरा हो । अब यसलाई चाहीँ नयाँ विषयजस्तो गरेर उचालेर ठूलो समस्या आईपर्योजस्तो गरेर यसलाई एउटा जनतामा सबैतिर कार्यकर्तामा आशंका र सन्देह पैदा हुनेगरि चर्चा गर्नुपर्ने नै विषय होईन ।

तपाईलाई जनताले पाँच वर्षको लागि म्याण्डेट दिएको हो नि, तपाईले बिचमै छोड्ने सहमति भएको हो र ?

यसमा म अहिले छलफल गर्न चाहन्न । यो सहमति के कस्तो भएको हो ? भन्ने कुरा सहमतिमै उल्लेख छँदैछ । र, अभिप्राय के हो ? भन्ने कुरा पनि उल्लेख छ । यतिवेला यो चर्चा गर्ने, मैले आज विहानपनि एउटा सञ्चारमाध्यमलाई भनें तपाईहरुलाई खुशी लाग्छ भने म चार पाँच दिनमात्रै हो, चार पाँच दिनपछि हटिहाल्छु भन्दिन्छु । देशको विकासप्रति चिन्ता नहुने, त्यसतर्फ बहस नगर्ने, विकास कसरी हुन सक्छ ? स्थिरता र स्थायित्व कसरी हुन सक्छ ? त्यतापट्टि नहुने । मलाई आश्चर्य लाग्छ । हरेक कुराको विरोध हुनुपर्ने । नराम्रो भन्नुपर्ने । यस देशलाई माया गर्ने र देशलाई राम्रो होस भन्ने कुरा खोई ? कतिपय मान्छेहरुको प्रवृत्ति म देखिरेको छु, त्यसमा मेरो खास टिप्पणी केही पनि छैन् ।

तपाई र प्रचण्डबीच घनिष्ठ सम्बन्ध छ, अन्तरंग कुरा पनि हुन्छ । तर, बेला बेलामा किन विवाद हुन्छ ? सम्बन्धमा चिसोपना किन आउँछ ?

चिसोपन कहाँ आएको छ? कसैले सोध्यो होला । हाम्रा बीचमा सहमति नभईकन त पार्टी एकता भएको छैन् । एकता गर्दा केही सहमतिका पक्षहरु छन् । केही सहमतिहरु भएर नै एकता भएको हो । र, एकता भएपछि एकताबद्ध रुपमा पार्टी अघि बढेको छ । त्यसलाई कमजोर पार्नेगरि, एकता खलबलाउनेगरि केही चर्चा गर्नुपर्ने त आवश्यकत्ता छैन् । जे सहमति भएका छन् । ती सबै आफ्नो बाटोमा र कोर्समा अघि बढ्छन् ।

प्रकाशित मिति: १८ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्