नेपालमा नाकाबन्दी लगाउन भूमिका खेलेका एस जयशंकर बने विदेश मन्त्री


 


काठमाण्डौँ । भारतको नवगठित मन्त्रिपरिषदको कार्य विभाजन गरिएको छ । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह नयाँ गृहमन्त्री बनेका छन् भने पूर्व गृहमन्त्री राजनाथ सिंहलाई रक्षा मन्त्रालयको जिम्मेबारी दिइएको छ।

राजनीतिक वृतलाई अचम्ममा पार्दै मन्त्रीका रुपमा सामेल गरिएका एक मात्र गैर सांसद तथा पूर्व विदेश सचिव एस जयशंकर मोदी सरकारका विदेश मन्त्री बनेका छन् ।

नेपालमा संविधान जारी हुनुभन्दा दुई दिन अघि मात्र विदेश सचिवका रुपमा आई संविधान तत्काल जारी नगर्न सन्देश दिएका जयशंकरलाई खास गरी त्यस बेलाको सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेससँगै तत्कालीन एमाले र माओवादीले एक ‘हस्तक्षेपकारी’ व्यक्तिका रुपमा प्रस्तुत गर्दै आएका छन् ।

जयशंकरको आग्रहलाई उपेक्षा गर्दै शुसिल कोइरालाको नेतृत्वको सरकार र दोस्रो संविधान सभाले संविधान जारी गरेको दुई सातामा नै पूर्व राजनीतिक सहमति अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका थिए । उनको कार्यकालको प्रारम्भिक पाँच महिनासम्म नेपालले संविधान जारीगरेवापत भारतको आर्थिक नाकान्दीको सामना मात्रै गरेन, भारत नेपाल सम्बन्धमा अभूतपूर्व रुपमा गिरावट पनि आएको थियो ।

संयोग विदेशमन्त्रीका रुपमा जयशंकरको नियुक्तिका अवसरमा उनका सबैभन्दा बढी आलोचक केपी शर्मा ओली प्रधानमन्त्री मोदीका अतिथिका रुपमा शपथ ग्रहण समारोहमा उपस्थित थिए ।

प्रकाशित मिति: १७ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्