प्रचण्डले विप्लवलाई ‘बिग अफर’, के विप्लवले स्वीकार गर्लान् ?


 


काठमाडौं, १७ जेठ– सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ताका लागि सरकार तयार रहेको बताएका छन् । तर, त्यसका लागि विप्लवले पनि पछिल्ला हिंसात्मक गतिविधि छाडेर वार्तामा आउनुपर्ने उनको भनाइ छ ।

संवाद, सहमति र वार्ताबाटै समस्याको समाधान गर्न आफू तयार रहेको र प्रधानमन्त्री केपी ओलीलाई पनि आफूले त्यसै अनुसार कुरा गरिरहेको प्रचण्डले बताए । इतिहास र आफ्नै अनुभवको स्मरण गर्दै प्रचण्डले विप्लवले यो कुरा बुझ्नुपर्ने उल्लेख गरे । ‘तपाईं (विप्लव) म आफूसँग नजिक बसेको र मैले धेरै माया गर्ने मान्छे पनि हो । ।

त्यस नाताले मैले भन्नुपर्दा तपाईंजस्तो बाटो जान खोजिरहनुभएको छ त्यो सफल हुँदैन । त्यो परिपस्थति अहिले छँदा पनि छैन । अहिले ०५२ साल होइन । यो ०७६ साल हो । धेरै परिवर्तन भइसक्यो । तपाईं हामी नै मिलेर ल्याएको परिवर्तन हो यो । शान्तिपूर्ण ढंगले यसको रक्षा गर्नु, यसमा टेक्नु र अगाडि बढ्नुभन्दा उचित देशको लागि केही छैन’, एक टेलिभिजन अन्तर्वार्तामा प्रचण्डले भनेका छन् ।

विप्लवसँग आफ्नो सिधै कुरा नभए पनि पार्टीका नेताहरु सम्पर्कमा रहेको दाबी उनले गरे । आफूले विभिन्न माध्यमबाट विप्लवसँग सम्पर्क गरिराख्न भनेको पनि सुनाए । प्रचण्डले विप्लवसँग पार्टी एकतासमेत हुन सक्नेमा इन्कार गरेनन् । विप्वल एकतामा आए उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने ‘आइडिया’ आफूसँग रहेको प्रचण्डको भनाइ छ । सरकारले समेत वार्ताको पहल गरिरहेको र त्यसको सम्भावना अझै बाँकी रहेको स्पष्ट गरे । प्रचण्डले नेकपाभित्र विप्लवका लागि राजनीति गर्ने ‘ग्राउण्ड’ रहेको समेत बताए ।

‘यो कुरा विप्लवजीले गहिरो गरी विचार गर्न जरुरी छ कि तपाईंका लागि राजनीति गर्ने ‘ग्राउण्ड’ यहाँ छ’, प्रचण्डले भने, ‘कम्युनिष्ट पार्टी अहिले जुन ठाउँमा छ, तपाईंले आएर पनि भूमिका खेल्ने ठाउँ यहाँ छ । यद्यपि त्यसका लागि शान्तिपूर्ण र प्रतिस्पर्धाको राजनीतिमार्फत राष्ट्र र जनताको पक्षमा काम गर्ने प्रण गरेर आउनुपर्ने उनको सर्त छ । विप्लव नेकपामा आए आफू उनका लागि उपयुक्त जिम्मेवारी दिन कुनै कञ्जुस्याईं नगर्ने पनि प्रष्ट्याए । ‘शान्तिपूर्ण र प्रतिस्पर्धाको राजनीतिमार्फत राष्ट्र र जनताको पक्षमा काम गर्ने प्रण गरेर आउनुप¥यो । बाँकी कुरा मिल्छ’, उनले भने, ‘उहाँलाई भूमिका दिन मेरो तर्फबाट कुनै कञ्जुस्याईं हुन्न ।’

आफूले पार्टीका नेताहरुलाई विप्लवसँग अनौपचारिक संवाद गरिराख्न पनि भनेको उनले खुलासा गरे । ‘विभिन्न साथीहरुले विभिन्न रुपले विप्लवसँग सम्पर्क गरिनै राखेका छन् । मेरा आफ्नो प्रत्यक्ष त केही छैन । साथीहरुसँग कुरा गर्नुस् भनेको छु मैले । सरकारले पनि कुनै न कुनै रुपले सम्पर्क बनाइराख्न कोसिस गरेको होला भन्ने ठान्छु’, प्रचण्डले भने, ‘सिके राउतको बाहिर आएपछि मात्र थाहा भयो नि, पहिला थाहा भएन नि । त्यस्तै होला भन्ने लागेको छ मलाई । सिके राउतको त्यो भन्दा पहिले मलाई थाहा थिएन ।

त्यो जस्तै यो पनि होला कि ?’। प्रचण्डले सहर बजारमा बम पड्काएर मान्छेहरुलाई अकर्षित गर्न सकिन्छ भन्ने भ्रम त्यागेर वार्तामा आउन विप्लवलाई आग्रह गरे । त्यसले विप्लवलाई नै विस्थापित गर्ने उनले चेतावनी दिए । विप्लवले सहर बजारमा आएर बम पड्काउने र राज्य चाहिं हेरेर बस्न नसक्ने पनि स्पष्ट गरे । पछिल्लो समय बम बनाउँदा बनाउँदै विस्फोट भएर विप्लव समर्थित चार युवाको निधन भएको घटनाले आफू दुःखी भएको बताए । उनीहरुलाई होनाहार युवाको संज्ञा दिँदै प्रचण्डले सरकारले मारेको भन्ने विप्लवको आरोप भने सही नभएको बताए ।

प्रकाशित मिति: १७ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्