कमाउन गएका श्रीमान् तीन महिना नबित्दै बाकसमा फर्किए,


 


धरान । गत वर्षमात्रै बजारमा आएको ‘सुन साइली… चालिस कटेसी रमाउँला’ भन्ने बोलको गीत विदेशिएका युवा र स्वदेशमा भएका तिनका जोडी बीच मात्र नभइ सारा नेपालीमाझ लोकप्रिय भयो ।
अझ भर्खरै विवाह गरेर विदेश पुगेका युवा र स्वदेशमा भएका उनीहरुका श्रीमतीले त झनै आफ्नै वास्तविक कहानी सम्झिए । गीतमा भनेझै अहिले बिछोडिनुपरे पनि थोरै धन कमाएर स्वदेश फर्किदा उमेरले चालिस कटेपछि पनि रमाउने आशामा धेरै युवायुवती छन् । वैदेशिक रोजगारले भर्खरै गाँसिएको नाता, पलाउँदै गरेको प्रेम, हुर्कदै गरेका नानीहरु, डाँडापारी हुन लागेका बा–आमा, साथीसंगी, घरगाउँ र आफ्नो देश सबै त्याग्न बाध्य गराउँछ । त्यस्तै धरान–५ निशान डाँडाका रामबहादुर बस्नेतलाई भने आधा उमेर (४२ वर्ष) कटेपछि पनि विदेश जान बाध्य गरायो । उमेरमा सँगै बसेर छोराछोरी हुर्काए, बढाए । २ छोरी र २ छोरा भएपछि भने तीनलाई लालन पालन गर्न अनि राम्रोसँग पढाउन भन्दै बस्नेत ४२ वर्षको उमेरमा विदेशिए ।

उनी फुलबारीमा मालिको काम गर्न भन्दै गत माघमा दुबई उडे । यो बेलासम्म स्वदेशमा नै दुःख गरेर बसेका उनलाई विदेश गएर ४–५ वर्ष काम गरी पैसा कमाउने इच्छा जाग्यो वा भनौ बाध्यतामा परे । उनी परिवारकै सल्लाह अनुसार गत माघमा अल सेक्युर मेनपावर रिक्रुटमेन्ट प्रालि काठमाडौबाट दुबई उडे । दुबई पुगेपछि उनले आफुलाई सञ्चो नभएको भनेर परिवारमा खबर गरे । उनकी श्रमिती देविमाया बस्नेत भन्छिन् –‘घरको आर्थिक समस्याले गर्दा यो बेला विदेश जानु भयो, फोनमा बिरामी छु भन्दै हुनुहुन्थ्यो, एक्कासी त्यस्तो (निधन भएको) खबर आयो ।’

दुबईमा गत बैशाख १० गते राती आत्महत्या गरेको भनेर परिवारलाई खबर आयो । र उनको शव नेपाल ल्याएर अन्तिम संस्कार समेत गरिसकिएको छ । विदेश गएका श्रीमान् तीन महिना नवित्दै बाकसमा आएपछि देवीमायालाई असह्य पीडा भएको छ । घरमा छोराछोरी पढाउनेदेखि सबै कुराको बोझ उनको थाप्लोमा आएको छ । तर त्यति हुँदा हुँदै विदेश जानु अघि गरेको विमाले उनलाई ठूलो राहत दिएको छ । बिहीबार उनले युनियन लाइफ इन्स्योरेन्स कम्पनीको धरान शाखाबाट बीमा रकम स्वरुप १४ लाख रुपैया भुत्तानी लिएकी छन् ।

नेपाल सरकारले विदेश जाने सबैलाई अनिवार्य फरने इम्प्लोइमेन्ट बिमा गर्न लगाउँछ । सोही बिमा बस्नेतले पनि गरेका थिए । सो बिमा गरेर विदेश गएमा छ बिमा गरेको महिनाभित्र मृत्यु भएमा एकमुष्ट रुपमा १४ लाख क्षतिपूर्ती पाइने व्यवस्था छ । युनियन लाइफ इन्स्योरेन्सका नायव क्षेत्रीय प्रमुख सुशिल चापागाईले बस्नेतलाई बिमा रकम भुक्तानीको चेक हस्तान्तरण गरे । उनले बिमा रकम लिएपछि राहत महसुश गरेको बताइन् । इन्स्योरेन्स कम्पनीले बस्नेतलाई बिमांक दाबी रकम १० लाख, किरिया खर्च एक लाख, शव ल्याउँदाको खर्च एक लाख र आया नोक्सानी वापतको २ लाख गरी जम्मा १४ लाख रकम भुक्तानी गरेको हो । बिमा रकम भुक्तानी गर्दै कम्पनीका धरान शाखा प्रमुख सिपुजन साहले बिमाले जीवन क्षतिपूर्ती गर्न नसकेपनि आर्थिक क्षतिपूर्ती गर्ने बताए ।

प्रकाशित मिति: १७ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्