सरकारी गाडी चढेर रेष्टुरेन्ट धाउने पाँच वडा अध्यक्ष यी हुन्


 


रुपन्देही । रुपन्देहीको गैंडहवा गाउँपालिकामा सरकारी गाडीको अत्यधिक दुरुपयोग भएको पाइएको छ । गाउँपालिकाका वडा अध्यक्षहरु शनिबारको दिन सरकारी गाडी चढेर रेष्टुरेन्ट धाउन थालेपछि रहस्य बाहिर आएको हो ।

सरकारी गाडी दुरुपयोग गर्नेमा गैंडहवा गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरी रहेका छन् । उनले लु१ब १२९१ को मोटरसाइकल प्रयोग गरेका हुन् । वडा नं. २ का अध्यक्ष तुलबहादुर पुन र उनको मोटरसाइकल लु१ब १२९६, वडा नं. ४ का अध्यक्ष सुरेन्द्र सिंह र लु१ब १२९४ नं. को मोटरसाइकल, वडा नं. ५ का वडा अध्यक्ष कृष्णशंकर प्रसाद गुप्ता र लु१ब १२९३ नं. को मोटर साइकल, लु१ब १२९० नं. को मोटसाइकलसहित वडा नं. ९ का अध्यक्ष रामबिलास यादव पक्राउ परेको इलाका प्रहरी कार्यालय मुर्गियाले जनाएको छ ।

सार्वजनिक बिदाको दिन स्थानीय सरकारका प्रतिनिधिले नै दुरुपयोग गरेको पाइएपछि ट्राफिक प्रहरी मुर्गियाका इञ्चार्ज दामोदर मल्लको नेतृत्वमा शनिबार बिहानैदेखि सरकारी गाडीको चेकजाँच गरिएको कार्यालयले जनाएको छ ।

मोटरसाइकल दुरुपयोग गर्ने सबै वडा अध्यक्षहरुलाई मुर्गियास्थित ग्लोबल पार्टी प्यालेसबाट शनिबार दिउँसो ४ बजे पक्राउ गरिएको र अर्को पटक दुरुपयोग गरेको पाइएमा नियम बमोजिम कारवाही गरिने लिखित कागज गरी राति ९ बजे छोडिएको इञ्चार्ज मल्लले जानकारी दिए ।

नेपाल सरकारले बिदाको दिन सुरक्षा निकायबाहेक अन्य गाडी चलाउन रोक लगाएको छ । सार्वजनिक बिदाको दिन चलाउनै परे प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा कारणसहितको पत्र लिएमा भने चलाउन पाइन्छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्