क्रिकेट रंगशालाको बारमा डोजर लगाउने प्रकाश कँडेल मध्यरातमै पक्राउ


 


चितवन । भरतपुर १५ मा निर्माणाधीन रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए राति रामपुरबाट पक्राउ गरेको जनाएको छ ।

नेकपाका नेतासमेत रहेका कँडेल बुधबार राति ११-१२ बजेतिर पक्राउ परेका हुन् । यतिबेला जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका छन् । यसअघि प्रहरीले रंगशालाका बार भत्काउने १६ जनालाई पक्राउ गरेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही व्यक्तिले बार भत्काउने काम गरेकोप्रति स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले बार भत्काउने कार्यमा संलग्न दोषीमाथि कारबाहीको माग गरेका छन् ।

धुर्मस सुन्तली फाउण्डेशनले बनाउन सुरू गरेको यो रंगशाला गत माघ १६ गते फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको थियो।

बुधबार धुर्मस सुन्तली फाउण्डेशनले क्रिकेट रंगशाला बनाउनका लागि लगाएको बार भत्काउन आएकाहरुले फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए । बुधबार विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका थिए।

कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको तारको जाली, त्यस वरपरका रुखहरू ढलाएका एवं ती व्यक्तिहरुले झण्डै एक किलोमिटर जति बार भत्काएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयका कर्मचारीहरुले खिचेको फोटोलाई पनि डिलिट गर्न धम्की दिएकोसमेत बताइएको छ । घटनामा संलग्न भएको आशंकामा १६ जना पक्राउ परिसकेका थिए । कँडेलको खोजि भइरहेको अवस्थामा उनी हिजो राति नै पक्राउ परको हुन् ।

प्रकाशित मिति: १६ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्