११०९ सभासदलाई विभूषण, विप्लवका नेता परे, वैद्य परेनन्, भ्रष्टाचारका आरोपीलाई पनि पदक


 


काठमाडौं : सरकारले संविधान निर्माणमा योगदान गरेको भन्दै एक हजार एक सय नाै जनालाई संविधानसभा पदकले विभूषण प्रदान गर्ने भएको छ।

दुवै संविधानसभामा प्रतिनिधित्व गरेका सभासदलाई गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजना हुने विषेश कार्यक्रममा संविधानसभा पदक वितरण गर्नेछन्।

पदक पाउनेमा पहिलो नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारीकै नाम छ। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महराको नाम छ। त्यस्तै पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्रीहरूलगायतको नाम वरियताका आधारमा रहेको छ भने अन्य सभासदको नाम वर्णानुक्रमअनुसार राखिएको छ।

संविधानसभामा प्रतिनिधित्व गरेका सबैजसो सभासदलाई संविधानसभा पदकले विभूषित गर्न लागिएको हो, जसमध्ये तत्कालीन माओवादीका उपाध्यक्ष र हाल क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको नाम भने छैन। तर हाल प्रतिबन्धित ‘विप्लव’ नेतृत्वको नेकपाका तीन नेताले भने पदक पाउनेछन्। खड्कबहादुर विश्वकर्मा, सन्तोष बुढा मगर र उमा भुजेलले पदक पाउने भएका हुन्।

पदक वितरण कार्यक्रम बिहीबार बिहान सुरु भएर अपराह्न ५ बजेसम्म चल्ने राष्ट्रपति कार्यालयले जनाएको छ। त्यस्तै भ्रष्टाचारको मुद्धा चलिरहेका दुई पूर्वमन्त्री टेकप्रसाद गुरुङ र बद्री न्यौपानेसमेत छन्। भृकुटीमण्डपको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले दुवै जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रकाशित मिति: १६ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्