यी हुन् एकाबिहानै क्रिकेट रंगशालाको बारमा डोजर लगाएर भत्काउने स्थानीय नेता !


 


चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएका छन् । आज (बुधबार) विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदि एका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका छन् ।हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले गरिब जनताले रगत–पसिना खर्चिएर बनाउन लागेको क्रिकेट रंगशालाको कम्पाउण्ड वाल स्थानीयले डोजर चलाएर क्षत विक्षत तुल्याइदिएको गुनासो गरेका छन् ।

नेकपाका स्थानीय तहका नेता प्रकाश कँडेलको नेतृत्वमा सय–सवा सयको संख्यामा आएको जत्थाले रंगशाला छेक्न ठड्याएको जस्तापाता क्षत विक्षत तुल्याउँदै कर्मचारीलाई धम्की दिएको धुर्मुसले जानकारी दिए ।धुर्मुसका अनुसार आफ्नै आँगनअगाडि क्रिकेट रंगशाला बन्ने भएपछि स्थानीय उत्साहित थिए । र, धुर्मुस दम्पतीलाई घडा राखेर अबिरजात्रा गर्दै स्वागत गरेका थिए । तर, तिनै स्थानीय बुधबार एकाबिहानै डोजरसहित पर्खाल र तारजाली भत्काउन आएका देख्दा आफू मर्माहत भएको उनले बताए । “निर्माणाधीन क्रिकेट रंगशाला यस क्षेत्रको विकासका लागि कोषेढुंगा बन्दै थियो ।

रामपुरको मात्र नभइ समग्र चितवनको विकाको भरपर्दो आधार बन्दै थियो । यहाँका स्थानीयबासीले पनि त्यसको लाभ पाउँथे । तर, कुत्सित मनशाय बोकेकाहरूको उक्साहटमा लागे,” उनको दुःखेसो छ ।स्थानीयका अनुसार प्रकाश कँडेल माओवादी पृष्ठभूमिका हुन् । र उनी विद्यार्थी राजनीति गर्थे । माओवादी विभाजन हुँदा वैद्य समूहमा लागेका उनी पछि रामबहादुर थापा वादलसँगै माओवादी केन्द्रमा फर्किएका थिए । र, अहिले उनी नेकपामै आवद्ध छन् । उनी नै घटनाको मुख्य योजनाकार भएको भन्दै प्रहरीले खोजी तीव्र पारेको छ ।

‘रेणु दाहाललाई मेयर बनाउने मै हुँ । मैले भनेको नमान्ने !’ भन्दै उनले धाक–धम्कीसमेत दिएको स्थानीय बताउँछन् ।धुर्मुसका अनुसार विश्वविद्यालयसँग साँध जोडिएका जग्गाधनीहरूले बाटो फराकिलो पार्नुपर्ने माग राखेका थिए । निर्माणाधीन क्रिकेट रंगशालाको पश्चिमतर्फबाट अहिले पनि सडक गएको छ । रंगशाला बन्ने भएपछि स्थानीयले ७ मिटरको उक्त मोटरबाटो बढाएर २१ मिटर चौडा बनाउनुपर्ने माग राख्दै आएका थिए ।धुर्मुसका अनुसार उनले स्थानीय अगुवासँग यस विषयमा पटकपटक कुरा गरेका छन् । चार दिनअघिमात्रै पनि जग्गाकै विषयमा लामो कुराकानी भएको थियो ।

धुर्मुसले उक्तबाटोमा मालवाहक गाडी पनि नगुड्ने र रामपुर जोड्ने बाटो भएकाले १० मिटर फराकिलो भए पुग्ने तर्क गरेका थिए । त्यसका लागि आवश्यक जग्गा छाड्न तयार भएका थिए । र, चारदिनको समयसीमा दिएका थिए ।तर, स्थानीय आफ्नोतर्फ एक इन्च जग्गा छाड्न राजी भएका थिएनन् । रंगशालाका लागि छुट्टयाएको जग्गा नै बाटोका लागि दिनुपर्ने उनीहरूको माग थियो । “उनीहरू चारदिनसम्म मौन थिए । आज बिहान डोजरसहित आएर धमाधम भत्काउन थाले । म मुकदर्शक बनेर हेरिरहेँ,” धुर्मुस दुःख पोख्छन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्