देउवा भन्छन्ः फेरि एकपटक मेरो पार्टीले लड्नुपर्ने बेला आयो


 


काठमाडौं नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले विगतमा पटकपटक प्रजातन्त्रसँगै राजतन्त्रलाई हिँडाउने प्रयास गरे पनि राजाले प्रजातन्त्र नमानेपछि वाक्क भएर राजतन्त्र फाल्नु परेको बताएका छन् ।

काङ्ग्रेसको प्रारम्भको सिद्धान्तअनुसार राजतन्त्र र प्रजातन्त्रलाई सँगै लैजाने कोशिश गरेको अवगत गराउँदै उनले भने, ‘विसं २००७ देखि नै नेताहरू विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला सबैले प्रजातन्त्रसँगै राजतन्त्रलाई लैजान खोजेकै हो, तर राजाले प्रजातन्त्रसँग हिँड्न मानेन । अन्तिममा वाक्व भएर गेटआउट गरेका हौँ ।’

काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘गणतन्त्र एक दशक’ विशेष अन्तरक्रियामा सभापति देउवाले राजाले प्रजातन्त्रलाई सधैँ धोका दिएको उल्लेख गर्दै भने, ‘विसं २०१७ सालमा ‘कु’ गरेर विपीलाई जेल हाल्यो । फेरी लडाइँ लडेर प्रजातन्त्र ल्यायो फेरि राजा ठीक छ भन्यो फेरि ज्ञानेन्द्रले प्रजातन्त्र फाल्यो र मलाई जेल हाल्यो, अरू सबैलाई जेल हाल्यो ।’

काङ्ग्रेसले प्रजातन्त्र छोड्न नसक्ने र राजाले प्रजातन्त्रसँग हिँड्न नमानेका कारण गणतन्त्र ल्याउनु परेको धारणा व्यक्त गर्दै आफ्नो पार्टीले प्रजातन्त्रसँग कहिल्यै सम्झौता नगर्ने बताए । गणतन्त्रबाट फर्कने अब कुनै सम्भावना नभएको बताउँदै सभापति देउवाले आफूहरू प्रजातन्त्रसहितको गणतन्त्रको पक्षधर भएको बताए ।

‘लोकतन्त्रविनाको गणतन्त्रको काम छैन’

विश्वमा गणतन्त्र भएका धेरै देशहरूमा प्रजातन्त्र नभएको र कतिपय राजतन्त्र भएका देशमा पनि प्रजातन्त्र भएको उल्लेख गर्दै उनले भने, ‘गणतन्त्र आउनेवित्तिकै सबैकुरा पाइन्छ भन्ने पनि होइन । मुलुकमा गणतन्त्र छ तर सरकारले विभिन्न विधेयक ल्याएर प्रजातन्त्रमाथि आक्रमण गर्न खोजिरहेको छ ।’

लोकतन्त्रविनाको गणतन्त्रको काम नभएकाले लोकतन्त्रसहितको गणतन्त्रका लागि आफ्नो पार्टीले पुनः एकपटक लड्नुपर्ने बेला भएको बताउँदै सभापति देउवाले लोकतन्त्रसँगै गणतन्त्रलाई हिँडाउनु काङ्ग्रेसको कर्तव्य भएको उल्लेख गरे ।

नेपालको संविधान विश्वमै समावेशी भएका र संविधानअनुसार काङ्ग्रेसको विधान पनि पूर्ण समावेशी भएको बताउँदै उनले यो कुरा जनतामाझ पु¥याउन नेता कार्यकर्तालाई निर्देशन दिए । आफ्नो स्वार्थ भनेको पार्टीलाई बलियो बनाउनु मात्र रहेको उल्लेख गर्दै सभापति देउवाले सबैको सहयोगले मात्र पार्टीलाई एकजुट बनाउन र अन्तरघातको रोगबाट मुक्त बनाउन सकिने बताए ।

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्