कतार भिसा सेन्टरको उद्घाटन आज


 


काठमाडौं : वैदेशिक रोजगारीमा कतार जाने नेपाली कामदारका लागि काठमाडौंमा स्थापना गरिएको कतार भिसा सेन्टरले बुधबारदेखि औपचारिक रुपमा काम थाल्ने भएको छ । काठमाडौं महानगरपालिका ४ महाराजगञ्ज चक्रपथमा स्थापित कतार भिसा सेन्टरको बुधबार बेलुका एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैलले उद्घाटन गर्र्नेे कार्यक्रम रहेको छ ।

भिसा सेन्टरले रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप लिने छ भने भिसा सेन्टरमै कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रकृया पूरा हुने छ । त्यसैगरी कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु पनि सेन्टरमा नै हुने छन् । कतारमा हुने ती काम नेपालमै सबै प्रकृया पूरा भएपछि कामदार कतार पुग्नासाथ आफ्नो परिचयपत्र पाउने कतारको भनाइ छ । कतारले भिसा सहजीकरणका लागि बंगलादेश, पाकिस्तान र श्रीलंकामा यसअघि नै कतार भिसा सेन्टर सञ्चालन गरिसकेको छ ।

भिसा प्रोसेसिङमा समेत नेपाली श्रमिकहरुले लामो समय कुर्नुपर्ने झन्झटको अन्त्य हुने विश्वास गरिएको छ । मेडिकल, बिमा र अन्य व्यक्तिगत कागजातहरु राम्रोसँग स्क्रिनिङ गरिने भएकोले मेडिकल फेल वा अन्य विभिन्न समस्या भएका व्यक्तिहरु नेपालबाट नै कतार जान पाउने वा नपाउने विषयमा टुंगो लाग्ने हुँदा कतार पुगेर फर्किनुपर्ने समस्या समेत हट्ने अपेक्षा छ ।

कतार भिसा सेन्टरबाट रोजगारीमा जाने नेपाली श्रमिकहरुको यकिन तथ्यांक राखिने हुँदा नेपाली रोजगारीमा कति गए र कति नेपाली कतारबाट फर्केर आए, कुन श्रमिक कस्तो अवस्थामा रहेको छ भन्ने जानकारी समेत हुने हुँदा थप सहज हुने बताइएको छ । कतारको सरकारी प्रकृया अनुसार भिसा सेन्टर सञ्चालन हुने हुँदा सेवाग्राहीलाई भविष्यमा कुनै पनि समस्या नआउने नेपालस्थित कतारी दूतावासले बताएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्