काठमाडौंमा एकै दिन १० ठाउँमा बम पड्काउने विप्लवको योजना


 


काठमाडौं, जेठ १३

आइतबार एकैदिन काठमाडौंका दस ठाउँमा बम पड्काउने विप्लव माओवादीको योजना रहेको खुलेको छ। तीन ठाउँ विस्फोट र शृंखलाबद्ध रूपमा प्रेसरकुकर बम फेला परेपछि प्रहरीले पक्राउ गरेका आठ जना विप्लव कार्यकर्ताबाट उक्त योजना खुलेको हो।

यसको सुरूआत अपराह्न साढे ४ बजे सुकेधाराको एउटा सैलुनबाट भयो, जहाँ सिलिन्डर बम विस्फोटमा परेर महोत्तरीका ५९ वर्षीय जीवकुमार ठाकुरसहित तीन जनाले ज्यान गुमाए। दुई जना गम्भीर घाइते भए।

यो घटनामा विप्लव माओवादीको भ्रातृ संगठन नेवा मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनसहित केही घाइते भएको प्रहरीले जनाएको छ।सुकेधारामा बम पड्केको हल्लाखल्ला सेलाउन नपाउँदै केही मिनेटमै अनामनगर, घट्टेकुलोस्थित लोकमन्जरी कार्कीको घरबाटै विस्फोटको आवाज आयो। त्यहाँको एउटा कोठामा अर्को सिलिन्डर बम पड्कँदा एक जनाको मृत्यु भयो भने एक जना घाइते भए।

ज्यान गुमाउने प्रज्वल शाही विप्लव माओवादी निकट रहेको प्रहरीले जनाएको छ। घाइते रविन केसी पनि त्रिचन्द्र कलेजमा पढ्ने विप्लवनिकट विद्यार्थी नेता हुन्।

तेस्रो विस्फोटन राति ८ बजेतिर नागढुंगामा भयो। चन्द्रागिरीस्थित आदिनारायण इँट्टाभट्टामा आफैंले बोकेको बम पड्कँदा विप्लव माओवादीका दुई जना कार्यकर्ता गम्भीर घाइते भए। घाइते हुनेमा चन्द्रागिरी(३ का विक्रम लामा र बुद्ध लामा भन्ने आकाश लामा भएको प्रहरीले बताएको छ। घाइतेको सहिद मेमोरियल अस्पताल कंलकीमा उपचार भइरहेको छ।

घटनास्थलबाट प्रहरीले दुई थान मोबाइल र तीन थान सिम बरामद गरेको थानकोट प्रहरी वृत्तका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए। यसरी चार जनाको ज्यान जाने र पाँच जना गम्भीर घाइते हुने गरी भएका तीन विस्फोटनसँगै आइतबार साँझ काठमाडौं र पाटनका विभिन्न ठाउँमा शृंखलाबद्ध रूपले प्रेसरकुकर बम फेला परे।

राजधानीमा बम विस्फोट गर्ने तयारी अवस्थामा रहेका बेला नरेफाँटबाट चार प्रेसरकुकरसहित आठ जना विप्लव कार्यकर्ता सशस्त्र प्रहरी बलको गस्ती टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाका तेजराज काफ्ले, आशिष तामाङ, डम्बर तामाङ, सल्यानका चित्रबहादुर ओली, भक्तपुरका राकेश श्रेष्ठ, बुद्धिबहादुर सुनार, रोल्पाका बुद्धिलाल पुन र तेजबहादुर मुक्तान छन्। उनीहरूलाई नेपाल प्रहरीसमक्ष बुझाइएको छ।

विप्लव माओवादीका यी आठ जना कार्यकर्ता पक्राउपछि काठमाडौंमा एकैदिन १० ठाउँमा बम पड्काउने योजना खुलेको हो। उनीहरूले काठमाडौं र भक्तपुरका केही स्थानमा बम पड्काउने जिम्मा लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। बम ओसार्ने क्रममा पक्राउ परेपछि उनीहरूको योजना असफल भएको एक प्रहरी अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्