भारतीय प्रधानमन्त्री मोदीले दिए राजिनामा


 


एजेन्सी । भारतीय प्रधानमन्त्रीले राजिनामा दिएका छन् । भारतीय लोकसभा निर्वाचनमा पार्टीले ऐतिहासिक विजय हासिल गरेपछि दोस्रो पटक सरकारको नेतृत्व गर्न मोदीले सरकारबाट राजिनामा दिएका हुन् । कुल ५४२ सिट क्षेत्रमा भएको चुनावमा भारतीय जनता पार्टी भाजपाले ३०३ सिट जितेको छ । यो नतिजासँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी फेरि पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार आउँदो साता उनको शपथ ग्रहण कार्यक्रम छ । पुनः प्रधानमन्त्री बन्न उनले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री मोदीले राष्ट्रपति रामनाथ कोविन्द समक्ष राजीनामा बुझाएका हुन् । राष्ट्रपति कोविन्दले मोदीको राजीनामा स्वीकृत गरेका भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ ।

केही दिनपछि मोदीकै नेतृत्वमा नयाँ सरकार गठन हुनेछ । नयाँ सरकार नबनेसम्म मोदी नेतृत्वको सरकारले ’कामचलाउ सरकार’का रुपमा काम गर्नेछ । शपथ अगाडि मोदी आफ्नो निर्वाचन क्षेत्र वाराणासी जाने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै उनी आफ्नी आमालाई भेट्न जाने पनि बताइएको छ ।

पाँच वर्षअघि भाजपाले २ सय ८२ सिट जितेको थियो । यसपालि भाजपाको मत बढेसँगै उसको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको सिट पनि पहिलाभन्दा बढेको छ । पाँच वर्षअघि एनडिएले ३ सय ३६ सिट पाएको थियो । यसपालि १४ सिट बढाएर ३ सय ५० र्पुयाएको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्