विकासको चित्र हेर्न आउनुहोस्,भक्तपुरमा ऐनामा जस्तै छर्लङ्ग देखिन्छ : सांसद बस्नेत


 


भक्तपुर, १० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिसभाका सांसद महेश बस्नेतले सरकारले विकास गरेन भनि आलोचना गर्ने तथा अन्य सरोकारवाला निकाय, संघ संस्था तथा पत्रकार भक्तपुरको विकासको चित्र हेर्न आउन अनुरोध गर्दै भक्तपुरको विकास ऐनामा जस्तै छर्लङ्ग देखिने बताउनुभएको छ ।

शुक्रवार सूर्यविनायक नगरपालिकामा प्रथम जननिर्वाचित प्रतिनिधिहरु पद वहालि गरेको दुई वर्ष पुगेको अवसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद बस्नेतले विकासमा भक्तपुरले एक कदम अघि मात्र नभई एक कदम दैडिएको बताउनुभयो । उहाँले भक्तपुरमा साना ठूला तथा राष्ट्रिय गौरवका आयोजनाहरु तिव्र गतिका साथ निर्माण कार्य भइरहेको बताउनुभयो ।

मानिसको दरिद्रता देखेर दया लागेर आउँछ, परिस्थिती र वाध्यता बुझ्न जरुरी रहेको बताउँदै सांसद बस्नेतले प्रतिनिधिसभाका सांसद भनेको कानुन निर्माणको समर्थन र आलोचना गर्नेमात्र नभई देश विकासको मुख्य हस्ती समेत रहेको बताउनुभयो ।

उहाँले संघियता सँगै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका प्रत्यक्ष जनतासँग सरोकार राख्ने प्रकारको भएको बताउँदै केन्द्र, प्रदेश तथा स्थानीय तहको आ–आफ्नै कार्य क्षेत्र रहेको बताउनुभयो । भक्तपुरका सम्पूर्ण तहका नेतृत्वको क्षमता संघिय सरकारसँग पुग्ने रहेको बताउँदै उहाँले संघिय सरकारले भक्तपुरको विकास र समृद्धिमा विशेष चासो दिएको बताउनुभयो । उहाँले सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिले दुई वर्षमा निर्वाचनको समयमा गरेको प्रतिवद्धताहरु पुरा गरेको र आगामी तीन वर्ष बोनस वर्षको रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद विकास कोषको (क्षेत्र विकास कोष) बारेमा रकम कानुनी रुपमा अघि बढ्ने भएकाले अनावश्यक हल्ला गर्नको कुनै अर्थ नरहेको बताउनुभयो । उक्त रकमले ५० लाखभन्दा बढीको दुईवटा अनिवार्य, २० वटाभन्दा बढी योजना छान्न नपाउने साथै १० लाखभन्दा कमको योजना समेत छान्न नपाउने प्रावधान रहेको जानकारी गराउँदै उहाँले सांसद विकास कोषको रुकम भक्तपुरको विकास मुखबाट गएको छ कि, पेटबाट गएको छ कि जनतामा गएको छ भन्ने कुरा आएर हेर्न आग्रह समेत गर्नुभयो ।

भक्तपुरको सम्पूर्ण केवल तारलाई अण्डरग्राउण्ड गर्ने काम शुरु भएको जानकारी गराउँदै सांसद बस्नेतले उक्त कार्य सुन्दर भक्तपुर बनाउने महत्वपूर्ण कार्यको प्रारम्भ हुने बताउनुभयो । उहाँले डेढ अर्व बराबरको रकम आगामी आर्थिक वर्षबाट उक्त कामका लागि प्रयोगमा आउने बताउनुभयो ।

आगामी २० गते वातावरण दिवसको अवसरमा वन तथा वातावरण मन्त्रीद्वारा ग्रीनरी बनाउने कार्यको शुभारम्भ, डोलेश्वर, सूर्यविनायक र अनन्तलिङ्गेश्वरमा ग्रीनरी पार्कको शिलान्यास हुने जानकारी गराउँदै उहाँले सिङ्गो भक्तपुरलाई ग्रीनरी बनाउन करिव १० अर्व लाग्ने अनुमान गरिएको बताउनुभयो । पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूर्यविनायक नगरपालिकामा ४९ लाख तथा समग्र भक्तपुरमा साढे दुई करोड बरावरको रकम भक्तपुरमा आएको समेत जानकारी गराउनुभयो ।

उपत्यका विकास प्राधिकरणले भक्तपुरमा तीस करोड बजेट विनियोजन गरेको र सोही अनुसार ५६ वटा सडकका आयोजनाहरु तिव्र गतिका साथ निर्माण कार्य भइरहेको जानकारी गराउँदै सांसद बस्नेतले आगामी दुई वर्षमा हनुमन्ते करिडोरको निर्माण कार्य सम्पन्न हुने, यो वर्ष दुई प्याकेजमा काम गर्ने निर्णय भएको जानकारी गराउनुभयो । उहाँले मनोहरा करिडोरलाई बहुवर्षीय आयोजनामा पार्न सफल भएको बताउनुभयो । उहाँले आगामी वर्ष पाँच वटा पुलहरु निर्माण हुने समेत बताउनुभयो ।

भक्तपुरको सडक विस्तार तथा निर्माण, करिडोर निर्माणका सवालमा जग्गा पर्ने सवैलाई ल्याण्ड पुलिङको माध्यमबाट व्यवस्थापन गर्न सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिको नाममा लगिएका सम्पूर्ण जग्गाहरुको खोजि कार्य तिव्र गतिमा अघि बढेको बताउँदै उहाँले करिडोर तथा स्मार्ट सिटी बनाउँदा आवश्यक पर्ने ल्याण्ड पुलिङको माध्यमबाट उक्त जग्गा जनतालाई उपलब्ध गराउने बताउनुभयो ।

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्