उर्लाबारीका चार क्रसर उद्योगलाई प्रतिबन्ध, पूर्वेलीलाई किन चल्न दिईयो ?


 


उर्लाबारी, जेठ १०

मापदण्ड पूरा नगरी खुलेका क्रसरका कारण बस्ती जोखिममा परेको भन्दै उर्लाबारी १ का वासिन्दा दुई महिना यता स्थानीयबासी रिले अनसनमा छन् ।

सुरुमा स्थानीयको आन्दोलनलाई चासो नदिएको जिल्ला समन्वय समितिले शुक्रवार पाँच मध्ये ४ वटा क्रसरलाई तत्काल बन्द गर्न निर्देशन दिएको छ । जिल्ला अनुगमन समितिको बैठकले मापदण्ड पूरा नगरेपनि उर्लाबारी – १ मै संचालित पूर्वेली क्रसर उद्योगलाई भने निर्वाध चल्न दिएको छ ।

उर्लाबारी – १ मा संचालित दुई वटा र संचालनको तयारीमा रहेका तीन वटै क्रसर मापदण्ड बिपरित छन् । अन्य चारवटालाई प्रतिबन्ध लगाएपनि पूर्वेलीलाई चल्न दिईनुलाई शंकाको रुपमा लिईएको छ । पूर्वेली क्रसरमा उर्लाबारी नगरपालिकाका मेयर खडग फागोको लगानी रहेको स्थानीयको दाबी छ । मेयरकै लगानी भएकै कारण अनुगमन समितिले बन्द गर्ने आँट नगरेको स्थानीयको आरोप छ ।

तर जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल पूर्वेली क्रसरप्रति स्थानीयको विरोध नभएको बताउँछन् । ‘हामीले अनुगमन गर्दा पूर्वेली बन्द गर्नुपर्ने देखेनौं’ उनी भन्छन् ‘मोरङका कुनै क्रसर मापदण्ड पूरा गरेका छैनन् । सबैलाई साउनसम्म व्यवस्थित हुन निर्देशन दिएका छौ ।’ पूर्वेली क्रसरले सर्वसाधारणलाई असर गरेको नदेखिएको उनको भनाइ छ । तर पूर्वेली क्रसर बक्राहा खोलाकै किनारमा छ भने बस्ती नजिकै संचालन भईरहेको छ ।

स्थानीय वासिन्दाले भने पाँचवटै क्रसरका विरुद्ध आन्दोलन गरेको बताउछन् । ‘हाम्रो आन्दोलन पाँचवटा क्रसर यहाँबाट हटाउनु पर्छ भन्ने हो’ स्थानीय गोपाल रिमाल भन्छन् ‘चारवटा मात्र बन्द गर्ने निर्णय भएको सुन्दैछौं ।’ वडा नम्बर १ मै सञ्चालित पञ्चेश्वर क्रसर उद्योगका सञ्चालक पनि प्रशासनले अन्याय गरेको बताउँछन । पूर्वेली र हाम्रो क्रसर सँगसँगै सञ्चालनमा आएका हुन्’ पञ्चेश्वरका सञ्चालक प्रकाश खड्गी भन्छन् ‘धेरै मापदण्ड पूरा गरेको हाम्रो मात्र बन्द गर्न मिल्दैन ।’

बैठकमा सहभागी मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी नयाँ तीनवटा उद्योग र शुक्रबार विवादमा परेको पञ्चेश्वर क्रसर तत्काल बन्द गर्ने निर्णय भएको बताएका छन् ।अनलाईन खबरको सहयोगमा 

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्