अहिले कार्ययोजना बनाउने समय हो


 


विक्रम संवतको अन्तिम सँगसँगै यतिबेला नेपाली विद्यालय तह शिक्षाको शैक्षिक वर्षको पनि अन्तिम समय हो । यतिबेला विद्यालयहरुमा वार्षिक मूल्याङ्कनका लागि आवधिक अन्तिम परीक्षा सञ्चालन भइरहेको अवस्था छ । पठन–पाठन कार्य प्राय समापन भइसकेको यस अवधिलाई कतिपय शिक्षकहरुले आराम गर्ने समयको रुपमा लिने गरेको पाइन्छ ।

थोरै बाहेक, चैत्र महिना लागेपछि हतारोसँग वार्षिक परीक्षा सञ्चालन गरी अधिकांश शिक्षकहरु सकेसम्म चाँडो–चाँडो दर्घा र दिसा लाग्ने परिपाटीको प्रचलन पुरानै हो । अधिकांश हामी शिक्षकहरुले वार्षिक परीक्षाको उत्तर पुस्तिकाहरु परीक्षा सञ्चालन भएको दिन सोही राती सबै परीक्षण गरी सक्दछौं ।

arjun rai
अर्जुन दुङमाली राई

अविस्मरणीय के छ भने, वार्षिक परीक्षामा एकै रातमा त्यतिका उत्तर पुस्तिका परीक्षण गरी सक्ने क्षमतावान हामी शिक्षकहरुले अन्य परीक्षाहरुको उत्तर पुस्तिका हप्तौ दिनमा पनि परीक्षण गरेर सक्दैनौ । त्यसैबाट हामीमा कमजोरी छ, भन्ने पुष्टि हुन्छ । परीक्षा सञ्चालन गरी सकेर जति सक्दो विद्यालय बन्द गर्न सक्यो उति धेरै दिन फुर्सदीमा बस्न पाइने हुन्छ । यो प्रवृत्ति प्राथमिक तह मात्र सञ्चालन भएका विद्यालयहरुमा अझ बढि देखिन्छ ।

बैशाखमा पनि नयाँ भर्ना, पाठ्यपुस्तक वितरण आदि इत्यादिको बाहनामा निकै दिन पठन–पाठन शुरुवात नगर्ने परिपाटी भएकाले पनि यस अवधिलाई कतिपय शिक्षकहरुले “यो नै शिक्षकहरुको भ्रष्टचार हो ।” भनेर समेत परिभाषित गर्ने गरेको सुन्नमा पाइन्छ । शिक्षकहरुले आर्थिक भ्रष्टचार गर्ने अवस्था नहुँदा चैत्र–बैशाखमा व्यवहारिक तवरले नै थुर्पै दिन विद्यालयमा पठन–पाठन बन्द गर्ने अवसर पाउनुलाई भ्रष्टचारको संज्ञा दिइएको भए तापनि विद्यालय सञ्चालन भएको समयमा आफ्नो जिम्मेवारी वहन नगर्नुलाई चाहिँ आँखा चिम्लन मिल्दैन ।

आफ्नो कर्तव्य र जिम्मेवारीलाई पूरा नगर्नु पनि ठूलो भ्रष्टचार नै हो । अहिले चालू शैक्षिक वर्षको अन्तिम समय भएकाले यो समयमा वर्ष भरीको समीक्षा गरी शिक्षकले व्यक्तिगत तथा संस्थागत सुधारको निम्ति उपयुक्त अवसरको रुपमा चैत्र महिनालाई सदुपयोग गर्न सक्नु श्रेयकर हुन्छ ।

चैत्र महिनामै आगमि वर्षका निम्ति सम्पूर्ण कार्ययोजनाहरु बनाउन सक्नु पर्दछ । जसले गर्दा नयाँ सेसनको शुरुबाटै नयाँ आयमका साथ विद्यालय सञ्चालन तथा पठन–पाठन हुन सघाउ पुग्दछ । विद्यालयको कार्ययोजना बनाउने सवालमा बिद्यालय प्रशासन सञ्चालनको बागडोर सम्हालेका शिक्षकहरुले अझ यो समयलाई उपलब्धीमूलक बनाउन सकेमा फलदायी हुनेछ । किनकी, यो अवधिमा समग्र विद्यालयको कार्ययोजना बनाइ राखेमा सोही आधारमा वर्ष भर विद्यालयलाई हाँक्न सहज हुनेछ ।

यतिवेला विद्यालयमा हरेक पक्षको कार्ययोजना बनाइ त्रमशः कार्यन्वयनमा लैजाने आवश्यक वातावरणको सिर्जना गर्ने प्रमुख कर्तव्य र जिम्मेवारी पनि विद्यालय प्रशासकहरुकै हो । यो समय शिक्षक–विद्यालय व्यवस्थापन समिति–अभिभावक–विद्यार्थी सबैको सहभागीतामा आफ्नो योजनाहरु बनाउने उपयुक्त बेला हो ।

यतिबेला वार्षिक योजना बनाउन सकेमा विद्यालय प्रशासक र शिक्षकलाई नै सबैभन्दा सहजता मिल्नेछ । भने अन्य सम्पूर्ण सरोकारवालाहरुलाई समेत विद्यालयको मूल्याङ्कन गर्न सहजता मिल्नेछ । विद्यालयले बनाएका योजनाहरुको कार्यन्वयनको अवस्थालाई मूल्याङ्कन गरी शैक्षिक वर्षको अन्त्यमा समग्र विद्यालयको मूल्याङ्कन गर्न पनि स्पट आधार मिल्दछ । हरेक विद्यालयमा न्यूनतम एक वर्षका निम्ति वस्तुगत एवम् व्यवहारिक योजनाहरुको मार्गचित्र कोर्न सक्नु पर्दछ ।

जसमा बालबालिकाहरुको शैक्षिक उपलब्धिलाई पहिलो प्राथमिकता दिइएको हुनु पर्दछ । यस सन्दर्भमा यस्तो भनाइ पनि छ, की विशेष गरी ठूला विद्यालयहरुको पो योजना हुन्छ त । सानोका के योजना ? भनेर भन्ने कथन पनि हाबि रहेको पाइन्छ । जुनसुकै तहको विद्यालयले पनि यो समयमा योजना बनाइ राख्नु अति जरुरी हुन्छ ।

सानो–ठूलो भन्ने सवाल यसमा रहन्न । मृग र खरायोको भुँडीको तुलना गर्न त मिल्दैन दुवैले घाँस नै खाने भए तापनि अघाउनलाई आ–आफ्नै तवरले चर्ने शैली त हुनु जरुरी छ । हरेक विद्यालयहरुको आ–आफ्नै तवरको आवश्यक्ता अनुसारको व्यवहारिक एवम् वस्तुपरक योजना बनाइ कार्यन्वयनमा नलागे सम्म रुपान्तरण अवसंभव प्राय छ । त्यसैले विद्यालयमा कार्ययोजना अपरिहार्य छ, जुन निर्माण गर्ने उचित मौसम यो हो ।

हचुवाको भरमा बिना योजना–स्पष्ट भिजन नभइकन विद्यालय सञ्चालन गर्ने हो भने उतिबेला प्रजातन्त्रको उदय हुनु पश्चात भुरुरु खुलेका पाठशाला–प्राइमरी स्कूलहरु र यो जमनाको विद्यालय सञ्चालनमा के अन्तर ? ड्यूटी पुरा गर्नु अनि रोजगारीको निम्ति मात्र शिक्षक पेसा अंगाल्ने मानसिकता हो भने तत्काल त्याग्नु सबैका लागि हितकर छ ।

जुन व्यक्तिगत रुपमा आफैलाई अनि यो समाज र सिङ्गो राष्ट्रका लागि घातक छ । समयले धेरै केल्टे फेरीसक्यो । हामी नेपाली शिक्षकहरुले आफ्नो पेसामा इज्जतको खडेरी परेको दुखेसो पटक–पटक गर्दर्छौ । तर त्यस निम्ति इज्जतिलो काम र व्यवहारमा कति लागू गर्दैछौ त ? स्वमूल्याङ्कन गर्नै पर्ने भएको पो हो की ?? वास्तवमा शिक्षकहरुका निम्ति यो समय किसानहरुका निम्ति मंसिर लागे जस्तै चटारो हुनु पर्ने समय हो । जसरी मसिरमा किसानहरुलाई वर्षभर लगाएको वालीनालीको उव्जनी उठाउने समय हो ।

त्यसरी नै शिक्षकहरुले शैक्षिक वर्ष भरी विद्यालयमा शिक्षणको जिम्मा लिएका आफ्ना बालबालिकाहरुको अवस्था के कस्तो रह्यो ? आफ्नो जिम्मेवारीमा आफू कति सफल वा असफल भएँ ? भनेर लेखाजोखा गर्ने अनि त्ससकै आधारमा आगमि शैक्षिक वर्षमा के–कस्ता सुधारका प्रयासहरु गर्ने भन्ने योजना बनाउने सुनौलो समय हो । तर विडम्बना ज्यादै थोरै विद्यालय–शिक्षकहरुमा मात्र यस्तो कार्य अभ्यासमा रहेको यथार्थ छ ।

वर्ष भर आफूले गरेको प्रयासको उपलब्धी र त्यसबाट पाठ सिकेर थप सुधारका निम्ति नयाँ–नयाँ योजनाहरु बनाउने उपयुक्त समय हो, यतिबेला । हतरमा लतार–पतार उत्तर पुस्तिकाहरु परीक्षण गरी प्राप्ताङ्काहरु तालिकीकरण गरी नतिजा विश्लेषण नै नगरी कुलेलम ठोक्ने अवस्था हुँदै होइन । त्यो प्रवृत्ति भनेको गैर जिम्मेवार र कर्तव्यविहिन शिक्षकको नाममा कलंक व्यक्तिले गर्ने व्यवहार हो, भन्दा फरक पर्दैन ।

शिक्षकको जिम्मामा भोलिको समाज–देशको भविष्य जोडिएको छ । हामी सच्चा इमानदार अनि कर्तव्यनिष्ट शिक्षकले त्यो व्यवहार नगरौं । रुपान्तर–परिवर्तन जादु जस्तो निमेष भरमा संभव हुने कुरो पक्कै होइन तथापि यो असंभव भन्ने पनि छैन । अवश्य हुन्छ । शुरुवात सबैले आफैबाट गर्नु जरुरी छ । जय नेपाली शिक्षक ।

प्रकाशित मिति: २२ चैत्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्