सरकारी जग्गा व्यक्तिको नाममा पास गराउने मालपोत कर्मचारीसहित पाँचजना पक्राउ


 


जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–४ बाउलीगाउँस्थित पाँच सय ९० रोपनी सरकारी जग्गा आफन्तको नाममा पास गराउने मालपोत कर्मचारीसहित पाँचजना पक्राउ परेका छन् । जुम्लाका तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपाने सहित स्थानीय शिक्षक मनीषचन्द्र न्यौपाने, स्थानीय किसान हरिहर न्यौपानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मालपोत कार्यालय चाबहिलका नासु विजय शर्मा र राष्ट्रिय पशु अनुसन्धान प्रतिष्ठान खुमलटारका पूर्वनिर्देशक यमुनाकुमार श्रेष्ठसमेत छन् । उनीहरूलाई केही दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाएको अख्तियार स्रोतले बतायो ।

सो जग्गा प्रकरणमा जोडिएका अन्य स्थानीय तथा गोविन्दका आफन्त भने फरार छन् । उनीहरू सम्पर्क नआएपछि अख्तियारले बुधबार सूचना जारी गरी एक साताभित्र उपस्थित हुन समय दिएको छ । गुठीचौर–४ का कविदत्त न्यौपाने, गोमा न्यौपाने, पार्वती न्यौपाने, केशवराज न्यौपाने, नवऋषि न्यौपाने, देवेन्द्रप्रसाद उपाध्याय, विष्णुऋषि शर्मा न्यौपाने, विष्णुलाल न्यौपाने, विष्णु न्यौपाने, मायादेवी न्यौपाने र जानकीदत्त देवकोटाको नाममा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको हो । गोमा गोविन्दकी श्रीमती र पार्वती छोरी हुन् । न्यौपानेले ७० रोपनी जग्गा श्रीमती गोमा र ६८ रोपनी जग्गा छोरी पार्वतीको नाममा दर्ता गराएका थिए । अनुसन्धान सुरु भएपछि उनीहरू फरार भएका छन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्