बेलवारीका कृषकलाई धानको बीउ वितरण


 


विराटनगर,  जेठ ६

मोरङको बेलबारी नगरपालिकाले कृषकलाई धानको बीउ वितरण गर्न थालेको छ । साना किसान सहकारी संस्थासँगको सहकार्यमा बीउ वितरण थालिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भयो ।

रन्जित तथा सुख्खा गरेर ३ जातको बीउ वितरण गर्न थालिएको उहाँको भनाइ छ । एक जना किसानलाई २० किलोसम्म बीउ वितरण गर्न थालिएको हो । नगरपालिकाको २ लाख ५० हजार र साना किसान सहकारीको १ लाख ५० हजार गरेर चार लाख रुपैयाँमा छ हजार किलो धानको बीउ कृषकलाई वितरण गर्नका लागि खरिद गरिएको छ । धानको बीउ अभाव भएर खेती बाँझै नहोस भन्ने उदेश्यले बीउ वितरण थालिएको प्रमुख सुवेदीको भनाइ छ । उहाँले बीउ अभावमा खेत बाँझै हुन नदिने प्रतिवद्धता पनि जनाउनु भयो ।

गत वर्ष पनि नगरपालिकाकै सहयोगमा फलफूलका विरुवा तथा धानको बीउ वितरण गरिएको साना किसान सहकारी संस्था बेलबारीका व्यवस्थापक बाबुराम खड्काले बताउनु भयो । कृषक गिरीनाथ दाहालले धानको बीउ पाएपछि कृषकलाई पनि राहत पुगेको बताउनु भयो । गत वर्ष पनि नगरपालिकाले वितरण गरेको बीउबाट राम्रो उत्पादन भएको उहाँको भनाइ छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्