नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्ने पक्का !


 


एजेन्सी । भारतमा सम्पन्न लोकसभा चुनाव लगत्तै विभिन्न प्रकारका अनुमान सार्वजनिक गरिएको छ । एक्जिट पोलले भारतमा फेरि एक पटक मोदीले राज गर्ने देखिएको छ । सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीएले गठबन्धनले प्रस्ट बहुमत ल्याउने देखिएको छ । भारतीय लोकसभा चुनाव २०१९ को अन्तिम चरणको मतदान आइतबार सकिएको थियो ।

अप्रिल ११ देखि सुरु भएको चुनाव विभिन्न ७ चरणमा भएको थियो । कुल ५ सय ४२ सिटका लागि भएको चुनावमा प्रस्ट बहुमत ल्याउनका लागि २ सय ७२ सिट चाहिन्छ । मोदी नेतृत्वको गठबन्धनले प्रस्ट बहुमत ल्याउने एक्जिट पोल सार्वजनिक भएको छ । मतगणना भने २३ तारेखमा हुनेछ ।

विभिन्न एजेन्सी र सञ्चार माध्यमले गरेका अनुमान अनुसार फेरि एक पटक वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले देशको नेतृत्व लिने भएका छन् । उनको पार्टी भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनले ३ सय भन्दा धेरै सिट जित्ने अनुमान आजतकले गरेको छ ।

इन्डिया टुडेका अनुसार ५ सय ४२ सिटमा बीजेपी नेतृत्वको गठबन्धनले ३ सय ३९ देखि ३ सय ६५ सिटसम्म ल्याउन सक्ने देखिएको छ । प्रमुख प्रतिपक्ष कँग्रेस आई नेतृत्वको गठबन्धनले ७७ देखि १ सय ८ सिट ल्याउन सक्ने देखिएको छ ।

त्यस्तै जनताको बोलीका अनुसार बिजेपी नेतृत्वको गठबन्धनले ३ सय ५ र काँग्रेस नेतृत्वको गठबन्धनले १ सय २४ ल्याउने उल्लेख छ । भारतका विभिन्न सहरमा गरिएको एग्जिट पोलमा नरेन्द्र मोदी फेरि एक पटक भारतको प्रधानमन्त्री बन्ने पक्का देखिएको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्