भारतीय निर्वाचनमा आयो एग्जिट पोलको सुरुआती नतिजा : मोदी र गान्धीमा को अगाडि ?


 


नयाँ दिल्ली । भारतमा एक महिना अघिदेखि जारी लोकसभा निर्वाचन आज सम्पन्‍न भएको छ । ५४२ सिटका लागि भएको निर्वाचन सात चरणमा गरी आइतबार सम्पन्‍न भएको हो । निर्वाचनको परिणाम २३ मे अर्थात बिहीबार सार्वजनिक गरिने भारतको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले नेतृत्व गरेको न्याश्‍नल डेमोक्रेटिक एलाइन्स (एनडिए) र राहुल गान्धीको दल भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसीभ एलाइन्स (युपीए) बीच मुख्य प्रतिस्पर्धा भएको थियो ।

सातै चरणको निर्वाचन सम्‍पन्‍न भएलगत्तै एग्जिट पोलको नतिजा आउने क्रम सुरु भएको छ । एग्जिट पोल मतदान गरेर निस्कनेहरूसँग गरिने एक सर्वेक्षण हो । लोकसभा निर्वाचन सुरु भएसँगै सुरु गरिएको एग्जिट पोलमा विभिन्‍न एजेन्सीहरु संलग्‍न थिए । उनीहरुले आ-आफ्नो एग्जिट पोलको नतिजा सार्वजनिक गरेका छन् ।

विभिन्‍न चार एग्जिट पोलमा एनडिए गठबन्धनले २८० देखि ३१५ बीचमा सीटहरू जित्‍ने अनुमान गरेको छ। जुन युपीएभन्दा निकै बढी छ । त्यसैगरी सी-भोटरका अनुसार एनडीए २८७, यूपीए १२८ र अन्य १२७ सिट ल्याउने अनुमान गरिएको छ । जन की बातका अनुसार एनडीए ३०५, यूपीए १२४ र अन्य ११३ सिट ल्याउनेछन् । न्यूज नेशनलका अनुसार एनडीए २८६, यूपीए १२२ र अन्य १३४ सिटमा जित निकाल्‍ने अनुमान गरिएको छ । एबीएका अनुसार एनडीए २६७, यूपीए १२७ र अन्य १४८ सिट ल्याएर जित हात पार्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्