“प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्रको निर्वाचनमा धाँधली”


 


एजेन्सी । भारतमा लोकसभा निर्वाचन सम्पन्न भएको छ । आइतबार सातौं चरणको निर्वाचन सम्पन्न भएको हो । सातौं चरणको निर्वाचनमा ६०.२१ प्रतिशत मतदान भएको छ । आइतबार ५९ लोकसभा सिटका लागि भएको निर्वाचनमा सबैभन्दा बढी मत पश्चिम बंगालमा खसेको छ ।

पश्चिम बंगालमा झडपका बीच सम्पन्न निर्वाचनमा ७३.०५ प्रतिशत मत खसेको छ । त्यस्तै झारखण्डमा ७०.५ प्रतिशत मत खसेको छ भने मध्यप्रदेशमा ६९.३८ प्रतिशत मत खसेको छ । बिहारमा ४९.९२ प्रतिशत मत झरेको छ भने हिमाञ्चलन प्रदेशमा ६६.१८ प्रतिशत मत झरेको छ । लोकसभा निर्वाचनमा निर्णायक रोल खेल्ने उत्तर प्रदेशमा भने ५४ .३७ प्रतिशत मत खसेको छ । त्यसैगरी चण्डीगढमा ६३.५७ प्रतिशत मत खसेको छ भने पञ्जाबमा ५८.८१ प्रतिशत मत खसेको छ ।

निर्वाचनका क्रममा पश्चिम बंगाल लगायतका स्थानमा दुई पक्षबीच झडप भएको छ । केही दिनअघिदेखि भाजपा र तृणमुल काँग्रेसका कार्यकर्ताबीच बंगालमा तनाब चर्किएको थियो । मतदानका क्रममा समेत त्यसको उत्कर्ष रुप देखिएको छ ।

त्यस्तै मतदान सम्पन्न भएलगत्तै काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्रमा धाँधली भएको आरोप लगाएका छन् । सातौं चरणको निर्वाचन सम्पन्न भएलगत्तै ट्वीट गर्दै अध्यक्ष गान्धीले मोदीका सेनाका अगाडि निर्वाचन आयोग नतमस्तक भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति: ५ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्