लेखेर राख्नुहोस् अर्को निर्वाचनमा नेकपा एक्लैको दुई तिहाईको सरकार बन्छ : ओली


 


काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता कायम हुन नदिने विभिन्न षड्यन्त्र भइरहेको बताउनुभएको छ । मदन आश्रित स्मृति दिवस र पार्टी एकताको एक वर्ष पुगेको अवसरमा मदननगर बल्खुमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता हुन नदिने प्रयास भइरहेको बताउनुभएको हो ।

उहाँले विभिन्न कोणबाट नेपाली समाजमा विद्धेष र घृणा फैलाउने, पारस्परिक द्वन्द्व मच्चाउन खोज्ने प्रयास भइरहेको दाबी गर्नुभयो । सरकारको विरोध गर्ने नाममा समाजलाई अनुशासनहीन, अराजक र असभ्य बनाउने प्रयास गहिरो गरी भइरहेको भन्दै त्यसतर्फ सरकार सजग रहेकाले प्रतिक्रियावादीहरु सफल नहुने दाबी पनि गर्नुभयो ।

अहिले आफ्नो पार्टी बहुमतकासाथ सरकारमा रहेको भन्दै उहाँले अहिले नागरिकका पक्षमा काम गरिरहेकाले आगामी निर्वाचनमा पार्टीले दुई तिहाई मत प्राप्त गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘अहिले हाम्रो पार्टी बहुमतका साथ सरकारमा छ कतिलाई पचेको छैन । अहिले हामीसँग अलिकति दुई तिहाई छैन । नपचेर के गर्ने अर्को पटक दुई तिहाईको हुन्छ । यो सरकार ।’

प्रतिक्रियावादी, नेपालविरोधि, जनविरोधि शक्तिका दूराकांक्षा विपरित पार्टी एकतालाई मजबुत बनाउदै पूर्णता दिने काम भएको र जनवर्गीय संगठनहरुको एकीकरण गरी नेतृत्वको टुंगो लगाइएको बताउनुभयो ।

प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्