मिडिया काउन्सिल विधेयकको विरोधमा उर्लाबारीमा पत्रकारहरुको प्रदर्शन


 


उर्लाबारी, जेठ ३

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको बिरोध गर्दै पूर्वी मोरङमा रहेका पत्रकारहरुले आज बिहान उर्लाबारीमा एक घण्टा सञ्चारसामग्रीसहित प्रदर्शन गरेका छन्

पूर्वी मोरङको बेलवारी, कानेपोखरी, पथरीशनिश्चरे, उर्लाबारी, रतुवामाई र मिक्लाजुका पत्रकारहरु भेला भई उर्लाबारी मुख्य चौकमा एक घण्टा सञ्चारसामग्री प्रदर्शन गरेका हुन् । सो विधेयकको बिरोधमा देशभर आन्दोलन गर्ने नेपाल पत्रकार महासंघको पहिलो पहिलो चरणको कार्यक्रमअनुसार आज सञ्चारसामग्री प्रदर्शन गरिएको महासंघका जिल्ला कार्यसमिति सदस्य सुमन घिमिरेले जानकारी दिनुभयो ।

उर्लाबारी – ७ स्थित सञ्चार क्लब नेपालको कार्यालयबाट सुरु भएको प्रदर्शन मुख्य चौकमा सञ्चारसामाग्री प्रदर्शन गर्र्दै समापन गरिएको थियो । महासंघ मोरङ शाखाको आयोजना र सञ्चार क्लबको व्यवस्थापनमा भएको प्रदर्शनमा ४० भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो । प्रदर्शन कार्यक्रममा महासंघका केन्द्रीय प्रतिनिधि अर्जुन जम्नेली राई, पत्रकार भक्तशेर लिम्बु र सञ्चार क्लबका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडाले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले प्रेस स्वतन्त्रता विरोध विधेयक तत्काल फिर्ता नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

महासंघका जिल्ला सदस्य सरोज बस्नेतका अनुसार यो कार्यक्रम पहिलो चरणको अन्तिम भएको र आजै वा भोली बिहान सम्ममा बिधेयक फिर्ता नभएको खण्डमा महासंघले थप संघर्षका कार्यक्रम तय गर्नेछ । यसअघि जेठ १ गते पूर्वी मोरङका सबै सञ्चारकर्मीले कार्यक्षेत्रमा कालो पट्टी बाँधेर काम गरेका थिए भने सोही दिन अन्तरक्रिया समेत गरिएको थियो ।

संसदमा दर्ता भएको बिधेयकले स्वतन्त्र पत्रकारिता, अभिब्यक्ति तथा प्रेस स्वतन्त्रता जस्ता कुराहरुलाई कुण्ठित पार्नेगरि ब्यवस्था गर्न खोजेकोले आन्दोलन गर्नुपरेको पत्रकार महासंघले जनाएको छ । कार्यक्रम महासंघका जिल्ला सहसचिव सन्तोष राईको अध्यक्षतामा भएको थियो भने संचालन सञ्चार क्लबका उपाध्यक्ष नवराज भट्टराईले गर्नुभएको थियो ।

प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्